काठमाडौं । पछिल्लो एक वर्षमा नेप्से परिसूचक ७०९.४ अंकले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांक अनुसार २०७८ पुस मसान्तमा २८५७.८ रहेको नेप्से सूचकाङ्क २०७९ पुस मसान्तमा २१४९.४ कायम भएको छ । जुन प्रतिशतको आधारमा २४.७९ प्रतिशतले घटी हो ।
२०७९ पुस मसान्तमा धितोपत्र बजार पुँजीकरण ३१ खर्ब ०३ अर्ब १६ करोड रुपैयाँ कायम भएको छ । २०७८ पुस मसान्तमा बजार पुँजीकरण ४० खर्ब ३७ अर्ब १३ करोड रुपैयाँ रहेको थियो ।
२०७९ पुसमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या २४९ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ६३ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७८ पुसमा सूचीकृत कम्पनीहरूको संख्या २२५ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६६.२ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत् कम्पनीको हिस्सा १२.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ६.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.२ प्रतिशत, होटेलको हिस्सा १.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.३ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्जमा २०७९ पुस मसान्तमा सूचीकृत ७ अर्ब १० करोड सेयरको चुक्ता मूल्य ७ खर्ब २ करोड रुपैयाँ रहेको छ ।
आर्थिक वर्ष २०७९/८० को छ महिनामा ३५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र, २८ अर्ब ४४ करोड रुपैयाँ बराबरको डिबेन्चर, ११ अर्ब ८० करोड रुपैयाँ बराबरको साधारण सेयर, १० अर्ब ८० करोड रुपैयाँ बराबरको बोनस सेयर, ४ अर्ब ४९ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड र ३ अर्ब ६७ करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल ९४ अर्ब २१ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्ब २० करोड रुपैयाँ बराबरको डिबेन्चर, ७ अर्ब ७५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ४ अर्ब ९ करोड रुपैयाँ बराबरको साधारण सेयर र ९५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर गरी कुल २१ अर्ब ९९ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।