काठमाडौं । दोल्ती पावर कम्पनीले फागुन ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको हो ।
कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ३६ लाख ४८ हजार ६ सय रुपैयाँ बराबरको ५ लाख ३६ हजार ४८६ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्नेछ । जसमध्ये अति प्रभावित क्षेत्र सािवक नौमुले र कालिका गा.वि.स.का स्थानियहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता र आयोजन प्रभावित क्षेत्र दैलेख जिल्लाका स्थानियहरुका लागि २ लाख ६८ हजार २४३ कित्ता सेयर बिक्री गर्ने भएको हो ।
यस्तै, कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको १ लाख ७ हजार २९८ कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री खुला गर्नेछ ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा फागुन २५ गतेसम्म आवेलन दिन सकिनेछ । तर, समयमा माग बमोजिम आवेदन नपरेमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले चैत ७ गतेसम्म आवेदन दिने समय थप हुनेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा स्थानिय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन्न् । यस्तै, क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी आवेदन दिन सकिनेछ ।
साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।
कम्पनीलाई इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।