काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पछि खुलेको पहिलो दिनको सेयर बजार ६० अंकले घटेको छ । आइतबारको नेप्से परिसूचक ६०.७७ अंकले घटेर २१२१.८६ बिन्दुमा झरेको छ ।
आइतबारको सेयर बजार कारोबार खुलेदेखि नै निरन्तर रुपमा ओरालो लागेर बन्द भयो । यससँगै गत बिहीबारको तुलनामा परिसूचक २.७८ प्रतिशतले घट्न पुगेको छ ।
परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । गत बिहीबार २ अर्ब ६ करोडको कारोबार भएको सेयर आज आइतबार ३ अर्ब ४ करोडले बढेको छ । दिनभरको कारोबारमा कूल २५३ कम्पनीको ८१ लाख ३९ हजार ८४० कित्ता सेयर किनबेच भएको छ ।
उच्च अंकले घटेको बजारमा हिमालयन डिष्टिलरीको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन १४ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, न्यादी ग्रुप पावरको ११ करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
घटेको बजारमा केहीले मात्र कमाएका छन् भने अधिकांशले गुमाएका छन् । कमाउनेको अग्रस्थानमा खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.४८ प्रतिशतले बढेर प्रतिकित्ता १३७५ रुपैयाँ पुगेको छ । यता टप लजुरको अग्रस्थानमा न्यादी ग्रुप पावर रहेको छ । जसको सेयर मूल्य ६.६० प्रतिशतले घटेर प्रतिकित्ता २९६ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
त्यस्तै, कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये जीवन बीमा समूह सबैभन्दा बढी अर्थात ३५७.१३ अंकले घटेको छ ।
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले पुँजीबजार तथा पुँजीबजारका लगानीकर्ताको मागलाई सम्बोधन नगरेसँगै आइतबारको बजार उच्च अंकले घट्न पुगेको जानकारहरु बताउँछन् । लगानीकर्ताहरुले उक्त समीक्षा मार्फत सेयर धितोकर्जामा लाग्दै आएको १२ करोडको सीमा हटाउनु पर्छ भन्ने माग गरेका थिए ।