काठमाडौं । बुधबार २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । अपि पावर कम्पनी र उपकार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
यी दुई कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ फागुन ४ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर खरिद गर्ने सेयरधनीहरुले लाभांश र साधारण सभामा सहभागी हुन पाउनेछन् ।
अपि पावर कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद गरी कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न कम्पनले फागुन १४ गते बानेश्वर ब्याङ्क्वेट थापागाँउ, काठमांडौमा बिहान ११ बजे १९ औँ बार्षिक साधारणसभा बोलाएको छ ।
उपकार लघुवित्तले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ६१.७५ प्रतिशत बोनस सेयर र ३.२५ प्रतिशत नगद गरी कूल ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले चौँथो वार्षिक साधारण सभा फागुन १८ गते बाँकेमा बोलाएको छ ।