काठमाडौं । गैर–कानुनी रुपमा तारागाउँ रिजेन्सी होटल्सले सञ्चालकहरु नियुक्त गरेको भन्दै सेयरधनीहरुले विरोध जनाएका छन् । कानुन बमोजिम निर्वाचनका माध्यमबाट कम्पनीको सञ्चालक नियुक्त हुनुपर्ने भन्दै सेयरधनीहरुले विरोध गरेपछि उक्त प्रस्ताव स्थगित भएको हो ।
कम्पनीको बुधबार सम्पन्न २६ औं वार्षिक साधारण सभामा विभिन्न ५ वटा प्रस्ताव पेश गरिएको थियो । जसमा सञ्चालक समितिमा विभिन्न ५ जनालाई नियुक्ति गरेको निर्णय पनि उल्लेख थियो । तर, कम्पनीका सर्वसाधारण सेयरधनीहरुले विरोध गरेपछि उक्त प्रस्ताव स्थगित गरिएको हो ।
कम्पनीले साभामा समूह ‘क’ तारागाउँ विकास समितिबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक सुरेश राज जोशीको नियुक्ती, समूह ‘ख’ बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक अरुण कुमार सराफ, सुरेश लाल श्रेष्ठ र देवेश सराफको पुनः नियुक्ती र स्वतन्त्र सञ्चालकहरुमा श्रीबत्स शम्शेर ज.व.राणा र मनोज प्रसाद राजभण्डारीको पुनः नियुक्ती गर्ने प्रस्ताव गरेको थियो ।
कम्पनीका सर्वसाधारण सेयरधनीहरुले प्रक्रिया नै नपुर्याएर नियुक्ति गरेको भन्दै विरोध गरेपछि उक्त प्रस्ताव ७ दिनका लागि स्थगित गरिएको छ । अब कानुनी परामर्श लिएर ७ दिनभित्र कम्पनीको सञ्चालक नियुक्त गर्ने कम्पनीका कार्यकारी संचालक सुरेश लाल श्रेष्ठले बताए ।
लगानीकर्ता तिलक कोइरालाले मनोमानी ढंगकले सञ्चालक नियुक्ति गरिएको भन्दै अदालतमा मुद्दा दायर गर्ने चेतावनी दिए । उनले कानुन विपरित सञ्चालक नियुक्ति गरियो भने अदालतमा प्रतिवाद गर्ने चेतावनी दिए ।
कम्पनीमा सञ्चालकहरुको नियुक्ति कम्पनी ऐन २०६३ को दफा ८७ र धितोपत्र बोर्डले जारी गरेको सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशीका २०७४ को दफा ५ बमोजिम बर्खिलाप रहेको उनको आरोप छ ।
‘कानुन विपरित सञ्चालक नियुक्ति गरियो भने अदालतमा प्रतिवाद हुन्छ, सबै सञ्चालकहरुले मुद्दा खेप्नुपर्छ, होटल ठूलो छ, कारोबार धेरै छ तर, चरम बेथिती र अपारदर्शीता छ,’ उनले भने, ‘नियमसंगत निर्वाचन समिति गठन गरी मतदाता नामावली सार्वजनिक गर्नुपर्छ, उम्मेदवारको सूची सार्वजनिक गरेर सेयरधनीहरुले निर्वाचनका माध्यमबाट छनोट गर्नुपर्छ ।’
उनले सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटललाई बुक क्लोज भएपछि लिखित रुपमा सेयरधनीहरुको विवरण माग्दा पनि कुनै सुनुवाइ नभएको बताए । अहिले कम्पनीको संस्थापक सेयर पनि सर्वसाधारण सेयर सरह कारोबार भइरहेकोमा उनले आपत्ति जनाए । यदि नियमविपरित काम भयो भने सर्वसाधारण सेयरधनीहरुले मुद्धा दर्ता गरेर कानुनी कारवाही गराउने चेतावनी उनले दिए ।
‘दोस्रो बजारमा कम्पनीको संस्थापक सेयर सहज रुपमा कारोबार हुन्छ, के तारागाउँ विकास समितिको पनि पब्लिक सेयर हो ? कसले अख्तिायारी दियो ? त्यो पब्लिक सेयर बनाउने तारागाउँ विकास समितिका सञ्चालकलाई मुद्धा लाग्छ । खेप्न तयार हो ? अख्तियारमा धाउन तयार हो ?,’ उनले भने ।
उनले आफू ३ पटक अनसन बसेर विभिन्न १९ वटा बुँदामा सहमति गरेको समेत बताए । जसमा तारागाउँ जस्ता कम्पनीलाई नथ्थि लगाउने मुद्धा पनि समेटिएको उनको भनाई छ ।
‘हामी लगानीकर्ता तारागाउँ विरुद्ध धितोपत्र बोर्डमा अनसन बस्नुपर्ने स्थिती नओस्, होटललाई राम्रो बनाउन खोजिएपनि अपारदर्शी ढंगले लूप होल प्रयोग गरिएको छ, अध्यारो कोठाबाट होटल सञ्चालन गर्न पाईंदैन, सञ्चालक समिति ऐन विपरित गर्नुभयो भने भने गलपासो हुन्छ ।’
८ हजार सेयरधनी कम्पनीमा रहेका छन् । तर, विवरणमा १४ जना मात्रै छ । सञ्चालकहरुले धारण गरेको विवरण कहाँ छ ? खरिदबिक्री गरेकोबारे कसरी जानकारी पाउने हो ?
सेयरधनी कमल भारतीले सूचीकृत कम्पनीले नीति नियम पालाना गर्नुपर्ने सुझाव दिए । धितोपत्र बोर्डले जारी गरेको संस्थागत सुशासन कम्पनीले उल्लङ्घन गरेको उनले बताए । कम्पनीका सञ्चालकहरुले आफैले बनाएको नियमावली पनि उल्लङ्घन गरेको आरोप उनले लगाए ।
‘कम्पनीका सञ्चालकहरुले धारण गरेको सेयर कति छ ?, कति–कति समयमा बैठक बस्छ ?, यो सबै जानकारी हुनु पर्छ, त्यो कार्यान्वयन भएको छैन, साथै वार्षिक प्रतिवेदनमा लेखापरीक्षकको सम्पूर्ण विवरण पनि उल्लेख गरिएको छैन,’ उनले भने ।
कम्पनीले खर्च गरेको कानुनी परामर्श भनेर ८४ लाख ३८ हजार रुपैयाँबारे पनि उनले प्रश्न गरे ।
‘कुनै कम्पनीको कानुनी शुल्क १ करोडको हाराहारीमा हुन्छ ? के अन्तर्राष्ट्रिय अदालतमा मुद्धा लडेको हो र ? कुन सार्वजनिक खरिदको प्रक्रिाय अनुसार त्यो समावेश भयो ? कम्पनीले अनाश्यक रुपमा गरेको खर्चलाई साधारण सभाले पारित गर्दैन,’ उनले भने ।
इन्द्र कुमार श्रेष्ठले सञ्चालकहरुले भत्ता मात्रै खाएर सेयरधनीहरुलाई थोरै लाभांश वितरण गरेको गुनासो गरे । २ पटक सञ्चालक समितिको बैठक बसेर सवा ६ लाख रुपैयाँ भत्ता लिएकोमा उनले शंका गरे ।
‘सञ्चालकहरु विभिन्न शिर्षकमा भत्ता मात्रै पचाइ रहेका छन्, सञ्चालकहरुले गत वर्ष बैठक भत्ता वापत ६ लाख १७ हजार ४६५ रुपैयाँ लिएका छन् तर, २ पटक मात्रै सञ्चालक समितिको बैठक बसेको छ, यसमा एक जना सञ्चालकले कति भत्ता बुझ्ने गरेका छन् ?,’ उनले भने ।
विभिन्न शिर्षक राखेर सबै रकम आफैं कुम्ल्याउने गरेको आरोप उनले लगाएका छन् । कम्पनीले बोनसको व्यवथा पनि गरेको भए सेयरधनीहरु खुशी हुने उनले बताए ।
उनले बोनस सेयर वितरण नगरेकोमा आक्रोस पोख्दै सञ्चालकहरुलाई तपाई अनपढ हो की धनपढ हो ? भनेर प्रश्न गरे । साथै उनले सञ्चालकहरुलाई धनपढको संज्ञा पनि दिए ।
लगानीकर्ता उत्सव श्रेष्ठले पनि सञ्चालक समितिमा नै खोट लगाए । कम्पनीको वार्षिक प्रतिवेदनमा प्रेसिडेन्ट कर्पाेरेट रानी बंग उल्लेख गरिएको छ । यदि रानी बंग प्रेसिडेन्ट कर्पाेरेट हो भने उनले धारण गरेको सेयर सार्वजनिक गर्नुपर्ने उनले बताए ।
‘सञ्चालक समितिमा ११ जना रहेका छन्, प्रेसिडेन्ट कर्पाेरेट रानी बंग भनिएको छ, २ वर्ष अधिको वित्तीय विवरणमा उहाँ वरिष्ठ उपाध्यक्ष र गत वर्षको वित्तीय विवरणमा अध्यक्ष हुनुहुन्थ्यो,’ उनले भने, ‘यदि उहाँ अध्यक्ष भएको भए सेयर धारण गर्नु भएको छ की छैन ? यदि छैन भने उहाँलाई यहि साधारण सभाबाट निकाल्ने प्रस्ताव राख्छु ।’
कार्यकारी सञ्चालक र प्रबन्ध सञ्चलकमध्ये एउटा मात्रै हुनुपर्ने उनले सुझाव दिए । तारागाउँ रिजेन्सी होटल्सका सञ्चालकहरुले गैरकानुनी काम गरेको आरोप सेयरधनीहरुले लगाएका हुन् । बुधबार सम्पन्न २६ औं वार्षिक साधारण सभामा बोल्दै सर्वसाधारण सेयरधनीहरुले सञ्चालहरुमाथि अनेकन आरोप लगाएका हुन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको १ करोड ८८ लाख ६६ हजार ५४० कित्ता सेयर सूचीकृत छन् । जसमध्ये सर्वसाधारण सेयरधनीहरुको १ करोड ३० लाख कित्ता र संस्थापक सेयरधनीहरुको ५८ लाख २० हजार कित्ता स्वामित्व छ । यो दुइटै सेयर साधारण सेयर सरह नियमित कारोबार भइरहेको नेप्सले जनाएको छ ।