१७ बीमा कम्पनीका कर्मचारीलाई ३५ करोड बोनस, कुनले बढाए, कुनले घटाए ?

<p>काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले कर्मचारीलाई कूल ३५ करोड ७ लाख रुपैयाँ बराबरको बोनस छुट्याएका छन् । सञ्चालित १८ निर्जीवन बीमा कम्पनीमध्ये १७ वटा कम्पनीले चालु आवको ६ महिनामै ३५ करोड रुपैयाँ बढी बोनस कर्मचारीको लागि प्रोभिजन गरेका हुन् । नेशनल इन्स्योरेन्स बाहेक अन्य कम्पनीले सार्वजनिक गरेको दोश्रो त्रैमासको वित्तीय विवरण अनुसार उक्त बोनस रकम अघिल्लो [&hellip;]</p>

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले कर्मचारीलाई कूल ३५ करोड ७ लाख रुपैयाँ बराबरको बोनस छुट्याएका छन् । सञ्चालित १८ निर्जीवन बीमा कम्पनीमध्ये १७ वटा कम्पनीले चालु आवको ६ महिनामै ३५ करोड रुपैयाँ बढी बोनस कर्मचारीको लागि प्रोभिजन गरेका हुन् ।

नेशनल इन्स्योरेन्स बाहेक अन्य कम्पनीले सार्वजनिक गरेको दोश्रो त्रैमासको वित्तीय विवरण अनुसार उक्त बोनस रकम अघिल्लो वर्षको तुलनामा १४.३० प्रतिशतले बढी हो । १७ वटा कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तसम्ममा ३० करोड ६५ लाख रुपैयाँ बराबरको बोनस वितरण गरेका थिए । यो बोनस सम्बन्धित कम्पनीको वार्षिक साधारण सभाले पास गरेपछि मात्रै कर्मचारीहरुलाई वितरण गरिने व्यवस्था छ ।

उक्त तथ्यांकअनुसार सबैभन्दा बढी बोनस राष्ट्रिय बीमा कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । सो कम्पनीका कर्मचारीलाई ३ करोड ७४ लाख रुपैयाँ बराबरको बोनस व्यवस्था गरिएको छ । जुन अघिल्लो वर्षको पुस मसान्तसम्मको तुलनामा ८४.०३ प्रतिशतले बढी हो । अघिल्लो आवमा राष्ट्रिय बीमा कम्पनीका कर्मचारीले २ करोड ३ लाख रुपैयाँ बराबरको बोनस पाएका थिए ।

त्यस्तै, कर्मचारीलाई बढी बोनसको व्यवस्था गर्ने कम्पनीको सूचीमा शिखर इन्स्योरेन्स रहेको दोश्रोमा छ । गत आवको पुससम्ममा ३ करोड ४७ लाख रुपैयाँ बराबरको बोनस व्यवस्था गरेको कम्पनीले चालु आवको पुससम्ममा ३ करोड ३६ लाख रुपैयाँ व्यवस्था गरेको छ । जुन ३.४० प्रतिशतले घटी हो ।

त्यसैगरी, तेश्रोमा नेको, चौथोमा सगरमाथा र पाँचौं सूचीमा प्रिमियर इन्स्योरेन्स रहेका छन् । चालु आवमा नेकोले २ करोड ९४ लाख, सगरमाथाले २ करोड ८४ लाख र प्रिमियर इन्स्योरेन्सले २ करोड ४७ लाख रुपैयाँ बराबरको बोनस छुट्याएका छन् । गत आवमा भने क्रमशः २ करोड १४ लाख, २ करोड ८२ लाख र २ करोड १३ लाख रुपैयाँ छुट्याइको छ ।

सबैभन्दा कम बोनस छुट्याउनेमा प्रुडेन्सियल इन्स्योरेन्स रहेका छन् । इन्स्योरेन्सले चालु आवको ६ महिनामा कर्मचारीलाई ६३ लाख ७८ हजार रुपैयाँ बराबरको बोनस छुट्याएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ३६.९६ प्रतिशतले घटी हो । जुन गत आवको पुससम्ममा एक करोड १ लाख रुपैयाँ बोनस कर्मचारीलाई छुट्याइएको थियो ।

गत आवको पुसको तुलनामा चालु आवमा तीन कम्पनीले कर्मचारी बोनस घटाएका छन् । शिखरले ३.४० प्रतिशत, ओरियन्टलले ३४.१४ प्रतिशत र प्रुडेन्सियल इन्स्योरेन्सले ३६.९३ प्रतिशतले कर्मचारी बोनस घटाएका छन् ।

चालु आवको कर्मचारी बोनस व्यवस्थामा छुट्याइएको रकम भने प्रोभिजनिङ मात्रै गरिएको हो । यो नै वास्तविक हो भन्ने हुँदैन । सम्बन्धित कम्पनीहरुको वार्षिक साधारण सभाले पारित गरेको वित्तीय विवरणमा कर्मचारी बोनस व्यवस्थामा छुट्याइएको रकम भने वास्तविक हुने एक जानकारले बताए । र, उक्त रकम सम्बन्धित कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई वितरण गर्ने छन् ।

कम्पनीहरुको नाफा बढेसँगै कर्मचारीहरुले पाउने बोनस पनि बढ्छ । कम्पनीहरुले कूल बोनसको १० प्रतिशत रकम कर्मचारीलाई छुट्याउनु पर्ने व्यवस्था छ । बोनस ऐन अनुसार कम्पनीहरुले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र कर्मचारीलाई वितरण गरिसक्नु पर्ने प्रावधान छ । सामान्यतय कम्पनीहरुले वार्षिक साधारण सभा सम्पन्न भएको दिनमा कर्मचारीहरुलाई बोनस वितरण गर्ने गरेको बीमाका जानकारले बताए ।

Share News