लघुवित्तमाथिको प्रहारले लगानीकर्ताको मन दुख्यो, ४९ संस्थाको सेयर मूल्य घट्यो

<p>काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३.५७ अंकले बढेको छ । नेप्सेमा रहेका उपसमूह मध्ये अधिकांश बढेका छन् । तर, बुधबार माइक्रोफाइनान्स समूहमा भने ६०.२५ अंक अर्थात् १.३८ प्रतिशत घटेर ४ हजार ३१९.०४ अंकमा बन्द भएको छ । बुधबार नेप्सेमा सूचीकृत ४९ कम्पनीको सेयर मूल्य घटेको छ । जसमध्ये ४६ वटा लघुवित्त वित्तीय [&hellip;]</p>

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३.५७ अंकले बढेको छ । नेप्सेमा रहेका उपसमूह मध्ये अधिकांश बढेका छन् । तर, बुधबार माइक्रोफाइनान्स समूहमा भने ६०.२५ अंक अर्थात् १.३८ प्रतिशत घटेर ४ हजार ३१९.०४ अंकमा बन्द भएको छ ।

बुधबार नेप्सेमा सूचीकृत ४९ कम्पनीको सेयर मूल्य घटेको छ । जसमध्ये ४६ वटा लघुवित्त वित्तीय संस्थाहरु रहेका छन् । बुधबार लघुवित्त संस्थाहरुको २ लाख १ हजार ४६० कित्ता सेयर ५ हजार ४७९ पटक खरिदबिक्री हुँदा २६ करोड १७ लाख ३१ हजार ८०८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

पछिल्लो एक साताको अवधिमा हेर्ने हो भने लघुवित्त समूह डेढ सय अंकले गिरावट आएको छ । गत बुधबार अर्थात् फागुन ३ गते ४ हजार ५४०.७१ सय अंकमा कारोबार भएको थियो । तर, एक साताको अवधिमा १४९.४२ अंकले घटेर ४ हजार ३७९.२९ अंकमा झरेको छ । यो सूचक अझै घट्न सक्ने आँकलन सेयर जानकारहरु बताउँछन् ।

पछिल्लो समय लघुवित्त वित्तीय संस्था विरुद्ध देशभरि गतिविधि भइरहँदा लगानीकर्तामा नकारात्मक असर परेको जानकारहरु बताउँछन् । लघुवित्त संस्थालाई नियामक निकायको कडाइ र देशभरिका आन्दोलन गर्दा नकारात्मक प्रभाव पारेको लगानीकर्ताहरुले बताएका छन् ।

एक लगानीकर्ता दुर्गा प्रसाईंले लघुवित्त विरुद्ध गरेको आन्दोलनका कारण लघुवित्तको सेयरमा प्रभाव परेको बताउँछिन् । साथै, सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा समेत लघुवित्त विरुद्धका क्रियाकलाप बढेकाले लघुवित्तका लगानीकर्ताको मनोबल कमजोर बनेको उनले बताइन् ।

‘पछिल्लो समय दुर्गा प्रसाईंले लघुवित्तबाट कर्जा लिएका ऋणीले तिर्नु पर्दैन भनेपछि लगानीकर्ताको मनोबल कमजोर बनेको छ, लघुवित्तमा राजनीतिकरण भयो,’ उनले भनिन्, ‘लघुवित्तको दोस्रो त्रैमासको वित्तीय रिपोर्ट नकारात्मक आएको छ, बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढेका कारण लघुवित्त व्यवसाय विस्तार गर्न सकेनन् ।’

साथै नेपाल राष्ट्र बैंकले कडाइ गर्दा लघुवित्तको व्यवसाय खुम्चिने र राम्रो प्रतिफल नपाइने भएकाले पनि लगानीकर्तामा असर परेको उनले बताइन् ।

लगानीकर्ता छोटेलाल रौनियारका अनुसार राष्ट्र बैंकले कडाइ गरेको हुँदा त्यसको प्रभाव लघुवित्तको सेयर मूल्यमा परेको हो । लघुवित्तलाई हिट गर्न खबरहरु सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएकाले पनि सेयर घटेको उनले बताए ।

‘राष्ट्र बैंकले एक जना ग्राहक २ वटा भन्दा बढी संस्थामा आवद्ध हुन नपाउने व्यवस्था गरेको छ, २ वटा बढी संस्थाबाट कर्जा लिन नपाउने व्यवस्थाले लघुवित्त संस्था जोगिन्छन् तर, संस्थाको विजनेश ग्रोथ ब्रेक लाग्छ,’ उनले भने ।

एक लघुवित्तबाट लिएको कर्जा चुक्ता गर्न अर्काे लघुवित्तबाट ऋण लिनुपर्ने स्थितीलाई निरुत्साहित गर्न नीति ल्याएकाले लघुवित्तको सेयर मूल्यमा हिट गरेको उनको भनाइ छ ।

उनका अनुसार लघुवित्तले बिना धितो कर्जा चलाउन दिएपनि गलत रुपमा प्रयोग भएको छ । लघुवित्तका विरुद्ध गलत प्रचार भएका छन् । लघुवित्तमा नकारात्मक सेन्टिमेन्ट आएको उनले बताए ।

‘लघुवित्तको सेन्टिमेन्ट नेगेटिभ बनाएकै हो, राजनीतिक रुपमा प्रभाव पार्ने गतिविधि भइरहेका छन्, जसले गर्दा लगानीकर्ता आत्तिएका छन्, लघुवित्तमा हिट भयो भने यसले समग्र अर्थतन्त्रमा नै हिट गर्छ,’ उनले भने ।

Share News