‘बीमा संस्थानको लेखापरीक्षण आगामी तीन वर्षसम्ममा पनि सकिने लक्षण छैन’

<p>अहिले हामी (राष्ट्रिय बीमा संस्थान) ५६औं वार्षिकोत्सव मनाइरहेका छौं । यो खुशियालीमा प्रगति नै प्रगति सुनिन पर्थ्यो । एकपछि अर्को फड्को मारेको सुनिनु पर्थ्यो । बीमा बजारमा बीमा संस्थानको प्रगति कस्तो छ ? त्यो सुनिन पर्थ्यो । तर ५६ वर्ष लाग्दै गर्दा राष्ट्रिय बीमा संस्थानलाई सुगर रोगले छोएको थियो । अब सुगर रोग मात्रै होइन कोलिष्ट्रोलले [&hellip;]</p>

अहिले हामी (राष्ट्रिय बीमा संस्थान) ५६औं वार्षिकोत्सव मनाइरहेका छौं । यो खुशियालीमा प्रगति नै प्रगति सुनिन पर्थ्यो । एकपछि अर्को फड्को मारेको सुनिनु पर्थ्यो । बीमा बजारमा बीमा संस्थानको प्रगति कस्तो छ ? त्यो सुनिन पर्थ्यो ।

तर ५६ वर्ष लाग्दै गर्दा राष्ट्रिय बीमा संस्थानलाई सुगर रोगले छोएको थियो । अब सुगर रोग मात्रै होइन कोलिष्ट्रोलले छोइसकेको छ । अब कोलिष्ट्रोल मात्रै होइन मुटु कलेजो तिर पनि अलि अलि धक्का पुगेको छ । यहि हिसावले जाने हो भने संस्थानको मेडिकल बीमा प्राधिकरण तथा अर्थमन्त्रालयले गर्नुपर्ने स्थिति छ । यसको इसीजी एमआरआई गरेर स्थिति के छ ? त्यो बुझेर छिटो उपचार नगर्ने हो भने आज ५६औं वार्षिकोत्सव मनाई रहँदा मलाई लाग्छ संस्थान ६०/६१ वर्ष पनि टिक्न सक्ने स्थिति छैन । मेरो कामना छ १०० वर्ष कटोस् । तर ६०/६१ मै कहिँ कतै गढबढ हुने हो की हामीलाई चिन्ता छ । यो चिन्ता हामी अभिकर्ताको मात्र होइन यो चिन्ता बीमितहरुको हो ।

हामी (राष्ट्रिय बीमा संस्थान) ले वर्षभरी कति प्रगति गर्यौं । कति प्रिमियम थप्न सक्यौं । कति नयाँ बीमालेखहरु हामीले जारी गर्न सक्यौं । अभिकर्ताहरुलाई कति पटक तालिम दिन सक्यौं । संस्थानको प्रगति विवरणमा केही पनि आएनन् । प्रगतिको नाममा गत वर्षको जस्तै कपि पेष्ट सार्वजनिक भएका छन् । थप प्रगतिका कुनै पनि गतिविधि देखिन सकेनन् । मात्र नयाँ अभिकर्ता तालिम बढाइएको छ भनिएको छ । के नयाँ अभिकर्ताले मात्रै व्यवसाय वृद्धि भएको छ ? हाम्रो प्रश्न छ ।

यो भन्दै गर्दा अभिकर्ता तालिम गर्न हुँदैन भन्ने होइन । तर पुराना अभिकर्तालाई पनि कम्तिमा तिखार्नु पर्यो । बीमा ऐन २०७९ आएको छ । कतिपय विषय विकृतिको रुपमा बजारमा आएको छ । त्यसलाई चिरफार गर्न आफ्ना संस्थानभित्र रहेका औजारहरुलाई तिखार्नु पर्छ की पर्दैन ? कर्मचारी, अभिकर्ता, सञ्चालक समिति, व्यवस्थापकीय टीमलाई लगायतका टीमलाई चुस्त दुरुस्त राख्न सकिँदैन तबसम्म संस्थानले केही पनि गर्न सक्ने स्थिति छैन ।

यसैगरी आज कति प्रिमियमहरु बाहिर जान थाल्यो । हामीले शाखा कार्यालयहरु सबै ठाउँमा खोल्यौं । उक्त कार्यालयमा दराज राख्यौं, र्याक राख्यौं । तर त्यो र्याकभित्र एउटा चाउचाउ मात्रै, बिस्कुट मात्रै बेचेर बसेका छौं । त्यसका भेराइटी केही पनि छैन । केही साथीहरु गुनासो गर्नुहुन्छ । नयाँ नयाँ कम्पनीले नयाँ नयाँ स्कीम ल्याएका छन्, दैनिक कार्यक्रमहरु गरेका छन्, अभिकर्ता आकर्षित हुने गतिविधि ल्याएका छन् । हामी यत्तिकै कार्यालय रुगेर बस्नु परेको छ । बिजनेस ल्याउँ, बिजनेस हाल भन्ने प्रेसर छ तर बीमाले बेच्नुपर्ने पोलिसी बैंकहरुले बेचिरहेका छन् । बैंकहरु तिर बीमाको पोलिसी सरेन्डर गर्ने, बीमाको पोलिसीहरु धितो राख्ने र बैंकमा लगेर मुद्दति निक्षेपमा राख्ने । बीमा कम्पनी तथा बीमा संस्थानले थप्नुपर्ने राइडरहरु बैंक तथा वित्तीय संस्थाले जारी गरिरहेको छ । हाम्रो लाजमर्दो अवस्था छ ।

बीमाको काम बीमा कम्पनीले गर्नुपर्ने हो । बीमा क्षेत्रमा बीमा कम्पनीहरुको एउटा सुरक्षण दायित्व छ । जिम्मेवारी छ । त्यतातिर लाग्नु पर्ने । तर अहिले बैंकहरु आफ्नो निक्षेप संकलन गर्ने, कर्जा प्रवाह गर्नेभन्दा बीमा अभिकर्ता बन्ने बीमाको काम गर्ने, बीमाको पोलिसीहरु बेच्ने जस्ता गतिविधि भएको छ । अहिले पछिल्लो चरणमा ग्राहकहरु प्रिमियम तिर्न आउँदा हाम्रै २/४ जना साथीहरुबाट गालि खानुपर्छ, केहीबाट कुटाई नै खानु पर्ला । तर २/४ जना साथीहरुको गतिविधिको कारणले सिंगो अभिकर्ता जमातको बदनाम भएको छ ।

यहाँ कर्मचारीहरुको नियमावली नआएको गुनासो छ । नियमावली आयो भने काम गराईमा चुस्त दुरुस्त हुन्थ्यो । उहाँहरुको गुनासो सम्बोधन हुन सकेको छैन । गत वर्ष पनि अर्थसमितिको प्रकृयामा भनिएको थियो अहिले पनि प्रकृयामा नै छ । कर्मचारी बीमा संस्थान छिरिसकेपछि उहाँहरुलाई यो संस्थानमा भविष्य नभएको भान हुन्छ । र, अन्य कुन ठाउँमा नाम निकाल्ने भन्नेतिर उहाँहरुको सोच हुन्छ । केही त बीमा संस्थानमा लाग्यौं भने सिधिन्छौं भन्न थालिसक्नु भएको छ । यसमा संस्थानका व्यवस्थापकले केही प्रयत्न गर्नुपर्छ की पर्दैन । अभिकर्तालाई पनि व्यवस्थित गर्नुपर्यो । हाम्रो टुल्सहरु के के हुन् । पार्टपुर्जा के के हुन् । त्यो पार्टपुर्जा राख्नु पर्यो । बीमा संस्थानको एउटा ल्यापटपमा बसेर सेयर बजारमात्रै हेरेर काम हुँदैन । कमसेकम प्रगतिका कार्यक्रम ल्याउनु पर्यो ।

अर्थमन्त्रीले माघ १६ गते लेखापरीक्षण सम्पन्न गर्न ९० दिनको म्याद दिनु भएको छ । आज करिब एक महिना बित्दै छ । मलाई लाग्छ, त्यो तीन महिना होइन, आगामी तीन वर्षसम्म पनि बीमा संस्थानको लेखापरीक्षण सम्पन्न हुने अवस्था देख्दिनँ । हुने लक्षण नै छैन । त्यसैले यसको लागि अर्थमन्त्रालयले पनि बढीभन्दा बढी प्रेसर देओस् ।

भूतपूर्वक कर्मचारी, प्रशासकहरुलाई सल्लाहकार टीम बनाएर बेला बेलामा महिनाको एकपटक छलफल गर्ने हो भने उहाँहरुको महत्वपूर्ण सुझावहरु हाम्रो बीचमा सेयर हुन्थ्यो । भूतपूर्वक साथीहरु, अभिकर्ताहरु लगायतलाई छलफलमा राख्ने हो भने उहाँहरुबाट धेरै सुझाव पाइन्थ्यो । र, प्रगति हुन्थ्यो ।

गत वर्ष पनि मैले यसैगरी भनेको थिएँ । तर अर्को वर्ष यस्तो स्थिति नआओस् । प्रगति नै प्रगति सुन्ने अवसर मिलोस् । बीमा अभिकर्तालाई प्रिमियमबापत कर तिनुपर्ने व्यवस्था होस् । अभिकर्ता मार्फत नै व्यवसाय विस्तार गर्ने हो । त्यसैले यो बजारलाई मारेर, बजारलाई थिचेर विस्तार हुँदैन । विकास हुँदैन । संस्थाले प्रगति गर्दैन । योतर्फ प्रशासन तथा सञ्चालक समितिको ध्यान जाओस् । यहाँ उहाँहरुको महत्वपूर्ण भूमिका हुनुपर्छ ।

अहिले दिन प्रतिदिन तरलताको समस्या छ । यो समयमा कम्तिमा बीमाले संकलन गरेको प्रिमियमले भूमिका खेल्थ्यो । अन्तमा बीमा बजारमा प्रिमियमको महत्वपूर्ण भूमिका छ भन्ने बुझाइयोस् । म भन्नेबाट बानी हटाएर हामी भन्ने बाँनी बसालियोस् ।

(राष्ट्रिय बीमा संस्थानमा आवद्ध ढुंगाना पेसागत बीमा अभिकर्ता संघका अध्यक्ष हुन् )

Share News