काठमाडौं । बीमा अभिकर्ताहरुले आगामी ७ दिनभित्रमा आफ्नो कागजात सम्बन्धित कम्पनीमा पेश गर्नुपर्ने भएको छ । प्राधिकरणको अनुसार बीमा कम्पनीका अभिकर्ताहरुले आगामी फागुन २२ गतेभित्रमा विभिन्न कागजातहरु पेश गर्नुपर्ने भएको हो ।
सो अनुसार अभिकर्ताहरुले एसएलसी वा सोभन्दा माथिको लब्धाङ्क पत्र र चारित्रिक प्रमाण पत्र, नेपाली नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो एक थान र स्थायी लेखा नम्बर (प्यान) कार्ड आफू कार्यरत बीमा कम्पनीमा पेश गर्नुपर्ने छ ।
यदि उक्त अवधिमा पनि सो कागजपत्रहरु पेश नभएमा बीमा अभिकर्ता इजाजत पत्र नवीकरण नहुने जनाइएको छ ।
बीमा ऐन, २०७९ को दफा ९१ (७) बमोजिम ‘बीमा अभिकर्ताको इजाजत पत्र दिँदा समान किसिमको एउटा मात्र बीमकको बीमा अभिकर्ताको इजाजतपत्र दिइनेछ’ भन्ने व्यवस्था रहेको छ । उक्त व्यवस्था कार्यन्वयन गर्न प्राधिकरणले सम्पूर्ण अभिकर्ताहरुलाई आफु कार्यरत बीमकका कार्यालयहरुमा तपशील बमोजिमका कागजातहरु पेश गर्न सूचना जारी गरिरहेको छ । र, हालसम्म पनि उक्त कागजातहरु पेश नगरेका अभिकर्ताहरुलाई फागुन २२ गतेसम्मको समय दिइएको प्राधिकरणले जनाएको छ ।