काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ७ महिनामा ८३ अर्ब ३९ करोड रुपैयाँ संकलन गरेका छन् । सञ्चालनमा रहेका १८ जीवन बीमा कम्पनीले साउनदेखि माघ महिनासम्ममा सो मात्राको प्रिमियम संकलन गरेका हुन् ।
जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.५७ प्रतिशतल बढी हो । कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ को माघसम्ममा ८१ अर्ब ३० करोड रुपैयाँ बराबरको जीवन बीमा प्रिमियम संकलन गरेका थिए ।
१८ कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्सको अग्रता कायमै रहेको छ । इन्स्योरेन्सले ७ महिनामा २१ अर्ब ६४ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । जुन गत वर्षको तुलनामा २.६६ प्रतिशतले बढी हो ।
त्यस्तै, दोश्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन, तेश्रोमा नेशनल लाइफ र चौथोमा राष्ट्रिय बीमा संस्थान रहेका छन् । यी तीन वटै कम्पनीको बीमाशुल्क क्रमशः ४.८४, १३.७५, ०.८६ र १.२४ प्रतिशतले बढेको हो ।
त्यसैगरी, हालै दुई कम्पनी मर्ज भइ बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स पाँचौं स्थानमा पर्न सफल भएको छ । कम्पनीले कूल ४ अर्ब ८६ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन साविकका सूर्य लाइफ र ज्योति लाइफले गत वर्ष संकलन गरेको बीमाशुल्कको तुलनामा १.२४ प्रतिशतले बढी हो । साविकका दुई कम्पनीले २०७८ माघसम्ममा कूल ४ अबए ८० करोड रुपैयाँ प्रिमियम उठाएका थिए ।

बिजनेश ग्रोथको आधारमा हेर्ने हो भने आइएमई लाइफ इन्स्योरेन्स आक्रामक देखिएको छ । एक वर्षको अवधिमा कम्पनीले २२.०७ प्रतिशतले आफ्नो व्यवसाय बढाउन सफल भएको छ । जुन अन्य कम्पनीको तुलनामा बढी हो । कम्पनीले चालु आवको ७ महिनामा २ अर्ब ३२ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । जबकी गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ९० करोड रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।
गत वर्षको तुलनामा व्यवसाय घटाउनेको सूचीमा ६ कम्पनी छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार युनियन लाइफ, मेट लाइफ, प्राइम लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ र गुराँस लाइफ रहेका छन् । यीमध्ये पनि प्राइम लाइफको सबैभन्दा बढी प्रतिशत अर्थात ११.२५ प्रतिशतले बीमाशुल्क आर्जन घटेको छ । गत माघमा २ अर्ब ९६ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको प्राइम लाइफले चालु आवको माघमा २ अर्ब ६३ करोड रुपैयाँ संकलन गरेको छ ।
यता सबैभन्दा कम बीमाशुल्क संकलन गर्नेको सूचीमा सबैभन्दा कान्छो कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेको छ । इन्स्योरेन्सले ७ महिनामा ८९ करोड ५१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । जुन गत आवको तुलनामा भने ९.२५ प्र्रतिशतले बढी हो ।