काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएका सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) आजबाट एक हुँदै छन् । मर्जर प्रकृयामा रहेका दुबै कम्पनीले आज (फागुन १७ गते) बाट एकीकृत कारोबार शुरु गरी औपचारिक रुपमा एक हुन लागेका हुन् ।
दुई कम्पनीबीचको यो मर्जर निर्जीवन बीमा क्षेत्र कै तेश्रो हो । तर बीमा क्षेत्रमा भने यो चौथो मर्जर हो ।
सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) मर्जरपश्चात सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् । दुई कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धी २०७९ साल असार २७ गते प्रारम्भिक सम्झौता सम्पन्न भएको थियो । जसको लागि नेपाल बीमा प्राधिकरण (साविक बीमा समिति) बाट असार २८ गते नै गाभ्ने गाभिने सैद्धान्तिक सहमति प्राप्त भएको थियो ।
प्रारम्भिक सम्झौता पश्चात सम्पत्ति र दायित्व मुल्याङ्कनकर्ता (डीडीए) नियुक्त गरी, मुल्याङ्कनकर्ताले प्रस्तुत गरेको प्रतिवेदन अनुरुप संयुक्त मर्जर समितिको सिफारिसको अनुसार सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) सञ्चालक समितिले स्वीकृत गर्यो । त्यसपछि गाभ्ने गाभिने सम्बन्धी अन्तिम सम्झौता भई नेपाल बीमा प्राधिकरणले वार्षिक साधारण सभामा विशेष प्रस्ताव राखि पारित भए बमोजिम गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्यो । र, २०७९ पुस २९ गते सम्पन्न साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेको हो ।
सोही अनुसार दुई कम्पनी बराबरी हैसियत अर्थात एक बराबर एकको अनुपातको रेसियोमा मर्ज हुने भएका हुन् । मर्जपछि बन्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा सिद्धार्थ इन्स्योरेन्सका सीईओ बीरेन्द्र बैदवार क्षेत्री रहने छन् । यता सञ्चालक समितिको अध्यक्ष र डीसीईओ भने हालसम्ममा तय भइ नसकेको कम्पनीले जनाएको छ । यो विषयमा एकीकृत कारोबार हुनुभन्दा अघि अर्थात आज बस्ने सञ्चालक समितिको बैठकले निर्णय गर्ने जनाइएको छ ।
यस्तो बन्यो सिद्धार्थ प्रिमियर
चुक्ता पुँजीमा ‘नम्बर वान’
मर्जरपछि बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्स चुक्ता पुँजीको आधारमा सबैभन्दा ठूलो कम्पनी बनेको छ । निर्जीवन बीमा क्षेत्रमा रहेका कम्पनीमध्ये ठूलो शिखर इन्स्योरेन्सलाई उछिन्दै सिद्धार्थ प्रिमियर चुक्ता पुँजीमा ‘नम्बर वान’ बनेको छ । बराबर हैसियतमा मर्ज भई बनेको सिद्धार्थ प्रिमियरको चुक्ता पुँजी २ अर्ब ८० करोड नाघेको छ । जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा पनि बढी हो । प्राधिकरणले निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ ।
बीमाकोषमा दोश्रो ठूलो
दुई कम्पनीको दोश्रो त्रैमासको वित्तीय विवरण अनुसार सिद्धार्थ इन्स्योरेन्सको बीमाकोषमा एक अर्ब २५ करोड र प्रिमियर इन्स्योरेन्सको बीमाकोषमा एक अर्ब ९ करोड रुपैयाँ सञ्चिति छ । यससँगै मर्जरपछि बन्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमाकोषको आकार २ अर्ब ३५ करोडको भएको छ । जुन निर्जीवन बीमा कम्पनीमध्ये दोश्रो ठूलो हो भने हालसम्म मर्जभएका कम्पनीको तुलनामा सर्वाधिक हो । सरकारको स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको बीमाकोषको आकार भने सबैभन्दा ठूलो अर्थात २ अर्ब ८५ करोड रुपैयाँको छ ।
कूल बीमाशुल्कमा पनि दोश्रो ठूलो
गत माघसम्मको तथ्यांकअनुसार सिद्धार्थ इन्स्योरेन्सको कूल बीमाशुल्क एक अर्ब ५२ करोड रुपैयाँ छ । त्यस्तै, प्रिमियरको एक अर्ब १७ करोड रुपैयाँ छ । मर्जरपछि बन्ने कम्पनीको कूल बीमाशुल्क २ अर्ब ७० करोड रुपैयाँ भएको छ । जुन शिखर इन्स्योरेन्स बाहेक सर्वाधिक हो । शिखर इन्स्योरेन्सले माघसम्ममा २ अर्ब ९८ करोड रुपैयाँ बराबरको कूल बीमाशुल्क आर्जन गरेको छ ।
५८ करोड २२ लाखको जगेडा कोष
गत पुससम्मको वित्तीय विवरण अनुसार सिद्धार्थ इन्स्योरेन्सको जगेडा कोषमा २८ करोड १४ लाख रुपैयाँ सञ्चिति छ । त्यस्तै, प्रिमियरको उक्त कोषमा ३० करोड ८ लाख रुपैयाँ छ । मर्जपछि सिद्धार्थ प्रिमियरको उक्त कोषको आकार बढेर ५८ करोड २२ लाखको हुने छ । यसको आधारमा भने कम्पनी चौथो स्थानमा छ । सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको ३ अर्ब ५७ करोडको जगेडा कोषको आकार छ । त्यसपछि शिखर इन्स्योरेन्सको ८१ करोड र हिमालयन एभरेष्टको ६६ करोड २० लाख रुपैयाँ छ ।
बीमालेख संख्या
पुससम्ममा सिद्धार्थ इन्स्योरेन्सले ७३ हजार ७६० वटा बीमा पोलिसी बिक्री गरेको छ । त्यस्तै, सोही अवधिमा प्रिमियर इन्स्योरेन्सले ७५ हजार ६५ वटा बीमालेख जारी गरेको छ । यससँगै सिद्धार्थ प्रिमियरको कूल बीमालेख संख्या एक लाख ४८ हजार ८२५ पुगेको छ ।
यसकारण भएर मर्ज
नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण (साविकको बीमा समिति) बाट निर्जीवन बीमा कम्पनीहरुले २०७९ चैत मसान्तसम्ममा चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ पुर्याउने पर्ने निर्देशनसँगै दुई कम्पनी एक आपसमा मर्जरमा जान तयार भएका हुन् । चुक्ता पुँजी पुर्याउनको लागि मर्जरको बाटो राजेका दुबै कम्पनीले असार २७ गते नै प्रारम्भिक सम्झौता गरी मर्जरको प्रकृया अघि बढाएका हुन् ।
दुई कम्पनीले २०७९ फागुनको पहिलो साता अर्थात १ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने सेड्युल बनाएका थिए । तर कम्पनी रजिष्ट्रारको कामले गर्दा फागुनको तेश्रो सातासम्म लम्बिन पुगेको कम्पनीका सीईओ बीरेन्द्र बैदवार बताउँछन् ।
व्यावसायिक प्रतिस्पर्धामक क्षमता बढ्ने, ग्राहकलाई थप सेवा दिने
सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स ‘अनलकिङ्ग ग्रेटर पोसिबिलिटिज टुगेदर’ को थिममा एक हुँदै छन् । अर्थात मर्जरपछि बन्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बजारका ठूला ठूला सम्भावनालाई अनलक गर्दै र आईपर्ने चुनौतिलाई समाना गर्दै अघि बढ्ने छ ।
कोभिड-१९ को महामारी पश्चात विश्वव्यापी आर्थिक मन्दी तथा तत्त्पश्चात युक्रेन र रसियाबीचको तनावले गत आ.व. २०७८/०७९ मा समग्र अर्थ व्यवस्थामा नकारात्मक प्रभाव परेको अवस्थामा पनि कम्पनीले ३५ करोड ५६ लाख रुपैयाँ नाफा गरी ९.४७ प्रतिशत लाभांश वितरण गर्न सफल भएको अध्यक्ष रतनलाल केडिया बताउँछन् ।
‘मर्जरपछि व्यावसायिक प्रतिस्पर्धामक क्षमता अभिवृद्धि भई परिणाममूखी र लक्ष्य अनुरुप आशातित उपलब्धि हासिल गर्ने सक्छौं भन्ने विश्वास छ, ’ अध्यक्ष केडियाले भने ।
त्यस्तै, मर्जरपछि बन्ने कम्पनीको सीईओ बीरेन्द्र बैदवार पनि मर्जरपछि कम्पनीको व्यवसायसँगै लगानी तथा धारण क्षमतामा वृद्धि हुने बताउँछन् ।
‘मर्जरपछि व्यवसाय, लगानी तथा धारण क्षमतामा वृद्धि हुने, सेवाको विस्तार हुने र अझ सहज रुपमा ग्राहकलाई बीमा सेवा प्रदान गर्न सकिन्छ भन्ने विश्वास छ,’ सीईओ क्षेत्रीले भने ।