काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुले चुक्ता पूँजी मात्र बढाएर बढाएर मात्रै नहुने बताएका छन् । बुधबार सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सबीचको एकीकृत कारोबार कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘कम्पनीहरुले लोगो परिवर्तन गरेर, पूँजी बढाएर मात्रै हुँदैन, पूँजी अनुसारको व्यवसाय गर्नु पर्यो, बजारमा सकारात्मक इमेज राख्न सक्नु पर्यो, बीमा दाबी भुक्तानी समयमा दिनु पर्यो, यदि समयमा दाबी भुक्तानी गरीएन भने ग्राहकले सराप्ने गर्छन्,’ उनले भने ।
अध्यक्ष सिलवालले बीमा कम्पनीहरु काठमाडौं केन्द्रित भएको बताउँदै अब काठमाडौं बाहिर गएर पनि कम्पनीहरुले बिजनेस गर्नुपर्ने बताए । उनले कम्पनीका कर्मचारीलाई बिजनेस गर्न र दाबी परेपछि तिर्न पनि सिकाउनु पर्ने बताएका छन् ।
यस्तै, उनले बीमा प्राधिकरणले मर्जर गर्ने कुनै पनि दवाव नदिएको बताएका छन् । उनले कम्पनीलाई आफै पूँजी थप्न वा मर्जरका माध्यमबाट पूँजी बढाउन सक्ने दुई विकल्प दिइएकोमा अधिकांशले मर्जर बाटो रोजेको बताए ।
‘थप पूँजी आफै बजारमा ल्याउनुभन्दा अहिले भएको पूँजीलाई नै एकीकृत गर्नुपर्ने विकल्प उचित हो,’ उनले भने ।
साथै, उनले कम्पनीहरुले नियामकको नीति निर्देशनमा बसेमा प्राधिकरणले जुनसुकै अवस्थामा पनि सहजिकरण गर्ने समेत बताएका छन् ।