काठमाडौं । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सको मर्जर छिट्टै हुने बताएका छन् । बुधबार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको एकीकृत कारोबार कार्यक्रममा बोल्दै क्षेत्रीले छिट्टै सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले एकीकृत कारोबार हुने बताएका हुन् ।
सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत समेत रहेका क्षेत्रीले स्वस्थ प्रतिस्पर्धाका लागि मर्जर प्रक्रिया आवश्यक रहेको बताए । मर्जरपश्चात् कम्पनीले राम्रो सिनर्जी ल्याउन सक्नु पर्ने उनको भनाइ छ ।
‘मर्जर पश्चात् सिद्धार्थ प्रीमियर इन्स्योरेन्सले राम्रो सिनर्जी ल्याउनेछ, स्वस्थ प्रतिस्पर्धा गर्नका मर्जर आवस्यक छ, अबको मर्जरको पालो सगरमाथा कम्पनीको हो,’ उनले भने ।
यसअघि मर्जरका लागि सगरमाथा इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको छलफल भएपनि सम्भव नभएको समेत बताए । उनले मर्जर नगर्ने कम्पनीलाई बीमा प्राधिकरणले के गर्ने हो भनेर प्रश्न समेत गरे ।
सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच गत माघ १७ गते मर्जरका लागि अन्तिम सम्झौता भएको थियो । त्यसैले अब एकीकृत कारोबार गर्न मात्रै बाँकी रहेको छ । मर्जर पश्चात् बन्ने कम्पनीको नाम सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड रहने छ । दुवै कम्पनी सेयर आदान प्रदान अनुपात(स्वाप रेसियो) क्रमश १००:८० अनुपातमा मर्ज हुनेछन् । मर्जर पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएको छ ।