
काठमाडौं । नागर्जुन नगरपालिका टौखेल निवासी आस्था पौडेलले दशरथ रंगशाला नजिकैको त्रिपुरेश्वर सर्जिकल हाउसमा डिजिटल ब्लडप्रेसर मेसिन किन्दै थिइन् । पसलेले जेनिलय ब्राण्डको ब्लडप्रेसर मेसिनको मूल्य ३२०० रुपैयाँ बताए । २०० रुपैयाँ घटाएर ३००० रुपैयाँमा बिक्री गर्न पसले तयार भए ।
अनलाईनमा यस्तो मूल्य कति रहेछ भनेर आस्थाले दराज एप खोलिन् । दराजमा सोही ब्राण्डका ब्लडप्रेसर मेसिनको मूल्य ६५९० रुपैयाँ रहेको देखिन् । दराजमा २०० रुपैयाँ छुट पनि भनिएको छ । छुटपछिको मूल्य पनि ६३५० रुपैयाँ हुन्छ । जुन बजारको भन्दा २११.६६ प्रतिशत महँगो हो ।
आस्था सोही पसलबाट सामान किन्न तयार भइन् । उनले बील र वारेन्टी मागिन् । पसलले डिजिटल बीपी सेट भनेर २६५५ मूल्यमा १३ प्रतिशत भ्याट ३४५ रुपैयाँ जोडेर ३००० रुपैयाँको बील पनि बनाइदिए । बीलमा २ वर्षको वारेन्टी लेखिदिए ।
‘दराजमा यसको मूल्य दोब्बर रहेछ’ आस्थाले पसलेसँग कुरा खोलिन् । पसलेले भने-‘हाम्रो होलसेल पसल हो, दराजले हामी र हामी जस्तै पसलबाट सामान लगेर बेच्ने हो, नाफा त खाई हाल्छ नि ।’
काठमाडौं कै लाम्पाटीमा नयाँ घर बनाएर बसोबास गरेका दामोदर भट्टराईले गत दशैंमा टिभी किन्न चाहेका थिए । दराजले ११११ मा निकै सस्तो सामान दिन्छ भन्ने सुनेर दशैंतिहारको अवधिमा पनि टिभी किनेनन् ।
११११ मा दराजले टीसीएल ब्राण्डको ५५ इञ्चको स्मार्ट टीभीको मूल्य १ लाख ९ हजारमा ४ हजार छुट दियो र १ लाख ५ हजारमा बिक्रीमा राख्यो । तर दामोदरले कलंकीबाट सोही टीभी भ्याटसहित ८१ हजार रुपैयाँमा किनेको अनुभव सुनाए । ‘दराजमा सस्तो पाइन्छ भन्ने भ्रम मात्र रहेछ, मैले भाटभटेनी, कालिमाटी र कलंकीका शोरुमहरुमा मूल्य बुझेको थिए, दराजमाभन्दा २६ हजार सस्तोमा टिभी किने’ उनले भने ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले हरेक सामानमा २० प्रतिशतभन्दा बढी नाफा लिएर सामान बेच्न नपाइने व्यवस्था गरेको छ । तर पसलमाभन्दा दराजमा २१२ प्रतिशतसम्म महँगो भएको पाइएको छ ।

दराजले सामान उपभोक्तासम्म पुर्याउँदा पनि अतिरिक्त शुल्क लिने गरेको छ । द नेपालटप दैनिकमा सम्पादक डिल्ली आचार्यले फेसबुकमा एउटा पोष्ट राखे । ‘ यो दराज भन्ने अनलाईन सपिङले अर्डर गरेकोभन्दा २२७ रुपैयाँ बढी मूल्य लियो सामानको । कम्प्लेन गरुँ भनेको न कसैको फोन छ न कसैले रेस्पोन्स गर्छ । यस्तो ठगी धन्धा कति दिन चल्छ यो देशमा ?’ उनले लेखेका छन् ।
‘छोरीले किताब किनेकी रहिछ दराज अनलाइनबाट, एउटा किताबमा २२७ रुपैयाँ मूल्य बढी लियो, तिमीहरुले ठगी गर्दा रहेछौं भने, तर यस्तासँग झगडा गरेर पार लग्दैन भनेर बढी पैसा तिरिदिए,’ उनले विकासन्युजसँग भने । डिल्ली आचार्यकाे पाेष्टमा कमेन्ट गर्ने अधिकांशले दराजले ठगी गरिरहेकाे र त्यसविरूद्ध उपभाेक्ता जागरूक बन्नु पर्ने उल्लेख गरेका छन् ।
पछिल्लो अनलाइन सपिङ गर्ने प्रचलन बढ्दो छ । समयको व्यस्तता र सहजताका लागि भए पनि अधिकांशको रोजाइ अहिले अनलाइन सपिङ पर्छ । किनमेल गर्नुपूर्व अनलाइन सपिङका प्लेटफर्म हेरेर सामान खरिद गर्ने बानी धेरैको हुन्छ । कतिपयले अनलाइन प्लेटफर्म हेरेर नै बजारमा सामानको मूल्य बार्गेनिङ गर्छन् ।
अनलाइन सपिङमा छुट्टै पहिचान बनाउन सफल भएका इ-कमर्श कम्पनी दराज, एसवाई बजार, हाम्रो बजार, अनलाइन सपिङ बजार लगायत थुप्रै प्लेटफर्महरु छन् । ती कम्पनीहरूले ग्राहकहरूले अनलाइनबाट खरिद गरेका वस्तुहरू ग्राहककै घरसम्म पुर्याउने काम पनि गर्दै आएका छन् । अनलाइनमार्फत् एउटै छानामुनी सबै सामान किनमेल गर्न सकिने भएकाले पनि यसमा मानिसको क्रेज बढ्दै गएको छ ।
अनलाइन सपिङका प्लेटफर्महरुमा मूल्यसहित विभिन्न सामान राखिएका हुन्छन् । कतिपयले छुट राखेका हुन्छन् भने कतिपयले फिक्स मूल्य कायम गरेका हुन्छन् । पछिल्लो समय बजारको तुलनामा अनलाइन बजारमा सामानको मूल्य महँगो पर्ने गरेको भेटिएको छ ।
प्रत्यक्ष पसलमा गएको र अनलाइनमा हेरेर सामान किन्दा धेरै फरक पर्ने कपडा व्यवसायी अनु चापागाईं बताउँछिन् । उनका अनुसार अनलाइनमा कपडा खरिद गर्दा ४/५ सय रुपैयाँ नै महँगो पर्न जान्छ ।

‘अनलाइनबाट किनेका सामान प्रत्यक्ष हेरेर किनेको जस्तो हुँदैन, कपडा नै किन्यौं भने पनि त्यहाँ किनेको कपडाको क्वालिटी राम्रो हुँदैन, फोटोमा देखे जस्तो सामान आउने ग्यारेन्टी छैन, साइज मिलेन भने फिर्ता हुन पनि मुस्किल छ, प्रत्यक्ष किन्न गयो रोजेर आकर्षक डिजाइनको सामान किन्न सक्यो,’ उनले भनिन् ।
‘छनोट र छुट गरेर ल्याएको सामान र नहेरी ल्याएको सामान धेरै फरक हुने पनि थापाले बताइन् । अनलाइनमा छुटको विकल्प हुँदैन, जति त त्यतिै नै तिर्नु पर्ने हुन्छ तर बजारमा छुट पनि पाइने भयो, भने जस्तो पनि छुट पाइँदैन,’ उनले भनिन् ।
यस्तै, कार्पेट व्यवसायी दीपक थापा अनलाइनमा सपिङबाट सामान खरिद गर्नु अनावश्यक पैसा खर्च गर्नु सरह रहेको धारणा राख्छन् । अनलाइनमार्फत् खरिद गरेको सामाग्री दीगो र गुणस्तर नहुने उनको भनाइ छ ।
‘सामान कस्तो छ, समान अनुसारको मूल्य होकि होइन, अनलाइनमा फिक्स मूल्य हुने भएकोले उपभोक्ता ठगिने सम्भावना बढी हुन्छ,’ उनले भने । अनलाइन सपिङ प्लेटफर्महरुले डेलिभरी शुल्क पनि लिन्छन् ।

यस्तै, पद्ममकन्या बुक पसलका सञ्चालक नरेन्द्र विक्रम थापा पनि अनलाइनमा सामान खरिद गर्दा महँगो पर्ने धारण राख्छन् । ‘अनलाइनमा सामान किन्दा महँगो पर्छ, फोटोमा देख्छौं, त्यही अनुसार सामान नआउन पनि सक्छ, प्रत्यक्ष बजारमा गएर किन्यौं भने रोजेर आफूले खोजे अनुरूपको सामान पाइन्छ, बजारको बारेमा पनि बुझ्ने अवसर मिल्छ,’ उनले भने ।
‘मानौं अनलाइनमा कुनै किताबलाई ४ सय ८५ राखेको छ, त्यसमा १०/१५ प्रतिशत छुट पनि दिएको छ, र त्यही किताब पसलबाट खरिद गर्यो भने २०/२५ प्रतिशतसम्म छुट दिन सकिन्छ, अनलाइनमा यति छ भनेर देखाएर चाहिँ हामीसँग बार्गेनिङ गर्न सक्ने भयो, यो चाहिँ सबल पक्ष हो,’ उनले भने ।