जीवन बीमालेख सरेन्डर : एक महिनामै ५१ प्रतिशतले बढ्दा नेपाल लाइफसहित ५ कम्पनीको घट्यो

<p>काठमाडौं । पछिल्लो समय जीवन बीमालेख सरेन्डर अर्थात समर्पण गर्नेको संख्या ह्वात्तै बढ्दो छ । नेपाल बीमा प्राधिकरणको अनुसार एक महिनाको अवधिमा ५१.८६ प्रतिशत बढी रकमको बीमा पोलिसी सरेन्डर भएका छन् । पछिल्लो तथ्यांकअनुसार माघमा मात्रै १ अर्ब ३२ करोड ७७ लाख रुपैयाँ बराबरको जीवन बीमालेख सरेन्डर भएका छन् । जुन अघिल्लो महिनाको तुलनामा ५१.८६ [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय जीवन बीमालेख सरेन्डर अर्थात समर्पण गर्नेको संख्या ह्वात्तै बढ्दो छ । नेपाल बीमा प्राधिकरणको अनुसार एक महिनाको अवधिमा ५१.८६ प्रतिशत बढी रकमको बीमा पोलिसी सरेन्डर भएका छन् ।

पछिल्लो तथ्यांकअनुसार माघमा मात्रै १ अर्ब ३२ करोड ७७ लाख रुपैयाँ बराबरको जीवन बीमालेख सरेन्डर भएका छन् । जुन अघिल्लो महिनाको तुलनामा ५१.८६ प्रतिशतले बढी हो । पुसमा कूल ८७ करोड ४३ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर भएका थिए ।

समीक्षा अवधिमा ५ कम्पनी बाहेक अन्य कम्पनीको बीमालेख सरेन्डर रकम बढेको छ । प्रतिशतको आधारमा सबैभन्दा बढी बढ्नेमा सन नेपाल लाइफ रहेको छ । एक महिनाको अवधिमै कम्पनीका पोलिसी सरेन्डरदर ८४४.६५ प्रतिशतले बढेको छ ।

त्यस्तै, एशियन लाइफको ४७८.७५ प्रतिशत, सुर्यज्योतिको ४२६.०४, लाइफ इन्स्योरेन्स कर्पोरेशनको २१७ प्रतिशत बढीको बीमापोलिसी सरेन्डर भएका छन् ।

सरेन्डर दर बढ्दो बजारमा नेपाल लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ, गुराँस लाइफ र सानिमा लाइफको भने गत पुसको तुलनामा माघमा घटेको छ । जसमध्ये सबैभन्दा बढी प्रतिशतले घट्नेमा सानिमा लाइफ रहेको छ । जसको ५९.५० प्रतिशतले बीमा सरेन्डर रकम घटेको हो । त्यस्तै, सिटिजन लाइफको ३१.९७ प्रतिशतले, आइएमई लाइफको २३.९२ प्रतिशतले, नेपाल लाइफको १३.५१ प्रतिशतले र गुराँस लाइफको ५.९१ प्रतिशतले बीमा सरेन्डर रकम घटेको हो ।

सरेन्डरदर घटेपनि अन्य कम्पनीको तुलनामा नेपाल लाइफको सबैभन्दा बढी रकमको बीमापोलिसी सरेन्डर भएको छ । कम्पनीका बीमितहरुले एक महिनामै ३८ करोड बढीको जीवन बीमा पालिसी त्यागेका छन् ।

किन बढ्दैछ बीमा सरेन्डर ?

बीमा गराउँदा नै राम्रोसँग बुझेर, अन्डरराइटिङ गर्दा ध्यान दिएर बीमा गराएका कम्पनीहरुमा सरेन्डरदर कम हुन्छ । तर जथाभावी अन्डरराइटिङ गर्ने कम्पनीमा सरेन्डर दर बढ्न पुग्छ । बीमितको सधैँ एउटै मानसिकता नहुने भएकाले पनि सरेन्डर बढेको सूर्यज्योति लाइफका सीईओ प्रकाश विक्रम खत्री बताउँछन् । ‘बीमालेख खरिद गर्दा एक मानसिकताले खरिद गर्ने र पछि उक्त मानसिकतामा परिवर्तन आउने भएपछि बीमितहरुले सरेन्डर गर्ने गरेको पाइन्छ,’ सीईओ खत्रीले बताए ।

वास्तविक रुपमा बीमाको काम नगर्दा यो क्षेत्रमा विकृति बढ्दो छ । अर्को, इन्भेष्टमेन्टको रिटर्नको हिसावले बीमालाई जोडेको भएर र बढ्दो बैंकदरले बीमामा सरेन्डर गर्नेको संख्या बढेको बीमा क्षेत्रका एक विज्ञले बताए ।

‘नेपालमा बीमाका एजेन्सीलाई तालिम दिँदा नै गलत प्रविधिको तालिम दिइन्छ, बीमा भनेको जोखिम बहनको लागि हो भनेर बीमाको जानकारी दिनुभन्दा पनि बीमा गर्दा तिमीहरुलाई फाइदा हुन्छ, यति प्रतिशत कमिसन आउँछ, जसरी हुन्छ बिजनेस ल्याउ भन्ने हिसाबले बीमा गराइएको छ,’ विकासन्युजसँग बोल्दै उनै विज्ञले भने- ‘यो फ्यासिलिटेट गर्नलाई आम्दानी प्रुफ पनि नहेर्ने, मेडिकल स्टेटमेन्ट नक्कली होकी सक्कली केही नहेर्ने, अझ कतिपय कम्पनीका एजेन्टले डाक्टरको नम्बर भएको छाप बोकेर हिड्ने गरेको सुनिन्छ, यस्ता लापरवाही काम गरेपछि त सरेन्डर बढीहाल्छ ।’

बीमितलाई नै घाटा
बीमामा हुन सरेन्डरले बीमा कम्पनी घाटामा पर्दैन । घाटा बीमितलाई नै हुन्छ । किनभने बीमितले बीमालेख खरिद गर्दा जति वर्षको लागि भनेर खरिद गरेको हो, त्योभन्दा अगाडि नै सरेन्डर गर्यो भने बीमा कम्पनीले उसलाई डिस्काउन्ट गरेर पैसा फिर्ता दिने व्यवस्था छ । कम्पनीले एजेन्टलाई दिने पैसा पनि बीमाको प्रिमियममै जोडेर लिने गर्छ । अनि जथाभावी खर्च गरेकोमा कम्पनीका लगानीकर्ताले नोक्सानी व्यहोर्नु पर्ने हुन्छ । अन्ततः यसको घाटा बीमितहरुलाई नै हो ।

सूर्यज्योति लाइफका सीईओ प्रकाश विक्रम खत्री पनि बीमा सरेन्डर गर्दा घाटा बीमितलाई नै हुने बताउँछन् । र, बीमा गरेको अवधि पुरा नभई बीचैमा छोड्दा आउने जति पनि लसहरु हुन्छन् त्यो बीमितले नै व्यहोर्नुपर्ने उनको भनाई छ ।

समाधान गर्ने होला त उपाय ?
सरेन्डर भनेको बीमा कम्पनीको प्रडक्टको विशेषता नै हो । यो पोलिसीमा नै हुने गर्छ । तर पनि यसलाई रोक्न आवश्यक रहेको सूर्यज्योति लाइफका सीईओ खत्री बताउँछन् ।

त्यस्तै, बीमा क्षेत्रका सरोकारवालाहरुले चाहने हो भने बीमामा बढ्दो सरेन्डरको नियन्त्रण सजिलै गर्न सकिने प्राइम लाइफ इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज भट्टाराई बताउँछन् ।

‘कुनै पनि कम्पनीले गरेको बिजनेसलाई त्यो बिजनेसको आधार के ? केको आधारमा बिजनेसमा ग्रोथ आयो ? यस विषयमा कम्पनीले बेचेको पोलिसीहरुको विशेष अनुगमन गर्ने । वा बीमा प्राधिकरणले एडिटरलाई नै निर्देशन दिएर ५० लाखभन्दा बढीको बीमा भएको अवस्थामा त्यसको डकुमेन्टहरुको प्रमाणीकरण गरेर, अन्डर्राइटिङ स्ट्याण्डर्डहरुदेखि लिएर सबै प्रकृयाहरु ठीक छ या छैन चेक गराउने व्यवस्था भयो भने यो सजिलै नियन्त्रण हुन्छ,’ भट्टराईले बताए ।

बीमामा बढ्दो सरेन्डरको नियन्त्रण गर्ने नियामक निकाय पनि त्यत्तिकै इमान्दार हुनुपर्यो र कम्पनीका सीईओहरुले पनि बीमितको हितमा काम गर्ने सोचका साथ अघि बढ्नुपर्ने पूर्वसीईओ भट्टराईको भनाई छ ।

‘गर्नेले गर्छ र गराउनेले गर्छ भन्ने हिसावले लागियो भने जे गर्दा पनि नियन्त्रण हुँदैन, तर यो गलत भयो, नेपाली कम्पनीहरुबाटै नेपाली नै ठगिनु हुँदैन, दुःख पाउनु हुँदैन भन्ने मान्यता राखेर केही गरौं भन्ने हिसावले लागियो भने नियन्त्रण गर्नको लागि प्रशस्त उपायहरु छन्, होइन भने जस्तो बिउँ रोप्यो त्यस्तै फल फल्छ भनेजस्तै हो,’ उनले थपे ।

के भन्छ नियामक ?

नियामक निकाय नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल भने पछिल्लो समय मान्छेसँग पैसाको कमी भएकाले बीमा पोलिसी त्याग्नेको संख्या बढेको बताउँछन् । साथै, अहिलेको सरेन्डर तत्काल बीमा गर्नेहरुले नभई पुराना बीमितहरुले गरेको उनको भनाई छ ।

‘बीमा गरेपछि सरेन्डर गर्न पाउनुपर्छ तर एक ठाउँमा बीमा गरेर कमिसन खायो अनि कमिसनको लागि नै अर्को ठाउँमा बीमा गर्ने विकृतिलाई भने रोक्नुपर्छ,’ विकासन्युजसँग बोल्दै पौडेलले भने- ‘यसको लागि प्राधिकरणले तीन वर्षसम्म बीमा पोलिसी त्याग्न नपाउने व्यवस्था गरिसकेको छ ।’

‘बीमापोलिसी सरेन्डर गर्नलाई हामीले निरुत्साहित नै गर्नुपर्छ, त्यसको लागि हामीले बीमा कम्पनीहरुलाई पुराना बिजनेसहरु नवीकरण गराउन भनेका छौं, उनले थपे ।

Share News