काठमाडौं । जीवन बीमा व्यवसाय गर्दै आएका जीवन बीमा कम्पनीहरुले विभिन्न प्रकारका बीमालेखहरु सञ्चालनमा ल्याएका छन् । कम्पनीहरुले हालसम्ममा ९ वटा छुट्टा छुट्टै बीमालेखहरु सञ्चालनमा ल्याएका हुन् ।
कम्पनीहरुले सावधिक जीवन बीमा, अग्रिम भुक्तानी साविधक जीवन बीमा, रुपान्तरित सावधिक जीवन बीमा, बालबच्चा सम्बन्धि सावधिक जीवन बीमा, वैदेशिक रोजगार म्यादि जीवन बीमा, आजिवन जीवन बीमा, एकल बीमाशुल्क जीवन बीमा, म्यादि जीवन बीमा र लघु जीवन बीमा सञ्चालनमा ल्याएका छन् । कम्पनीहरुले यी सबै बीमालेख देशभरका ७ वटै प्रदेशमा बिक्री गरी बीमाशुल्क संकलन गरिरहेका छन् ।
जसमध्ये सबैभन्दा बढी प्रिमियम सावधिक जीवन बीमाबाट उठिरहेको नेपाल बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ । माघ महिनासम्ममा मात्रै ७ वटा प्रदेशबाट ३२ अर्ब ५७ करोड रुपैयाँ बराबरको प्रिमियम सावधिक जीवन बीमाबाट संकलन भएका छन् । समीक्षा अवधिमा २२ लाख २१ हजार वटा पोलिसी बिक्री भएका छन् । उक्त बीमाशुल्क पुस महिनाको तुलनामा बढी हो । गत पुसमा मात्रै कम्पनीहरुले सावधिक जीवन बीमाबाट २८ अर्ब ५४ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका थिए ।
७ वटा प्रदेशमध्ये पनि सबैभन्दा बढी बीमाशुल्क बाग्मती प्रदेशबाट संकलन भएको छ । ९ लाख ८३ हजार वटा पोलिसी बिक्री भएको यो प्रदेशबाट मात्रै १७ अर्ब ७७ करोड ३९ लाख रुपैयाँ बराबरको प्रिमियम उठेको छ ।
त्यस्तै, सावधिक जीवन बीमालेख बिक्रीबाट लुम्बिनी प्रदेशमा ४ अर्ब, गण्डकी ३ अर्ब २३ करोड, प्रदेश १ (कोशी) मा ३ अर्ब ८ करोड, मधेशमा २ अर्ब, सुदुरपश्चिममा एक अर्ब ३८ करोड र कर्णाली एक अर्ब रुपैयाँ बराबरको प्रिमियम संकलन भएका छन् ।
त्यसैगरी, सावधिक जीवन बीमालेखपछि सर्वाधिक बिक्री हुनेमा अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख रहेका छन् । यो बीमालेखबाट कम्पनीहरुले माघसम्ममा २ अर्ब रुपैयाँ बढी प्रिमियम संकलन गरेका छन् । जसमध्ये बाग्मती प्रदेशबाट सबैभन्दा बढी प्रिमियम उठेको छ ।
त्यस्तै, बालबच्चा सम्बन्धि सावधिक जीवन बीमाबाट १२ अर्ब १६ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन भएको छ । त्यसपछि रुपान्तरित सावधिक जीवन बीमामा बीमितहरु आकर्षित भएका छन् । जसबाट कम्पनीहरुले ११ अर्ब ९ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन भएको प्राधिकरणले जनाएको छ ।
आजिवन जीवन बीमालेख बिक्रीबाट कम्पनीहरुले कूल २ अर्ब ६८ करोड, वैदेशिक रोजगार म्यादि जीवन बीमाबाट १ अर्ब ९६ करोड, लघु जीवन बीमाबाट १ अर्ब ४३ करोड, म्यादि जीवन बीमाबाट ७७ करोड ६७ लाख र एकल बीमाशुल्क जीवन बीमाबाट ६८ करोड ४२ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गर्न सफल भएका छन् । जुन चालु आवको ७ महिनाको अवधिमा संकलन भएका हुन् ।
समग्रमा कम्पनीहरुले सात वटै प्रदेशमा बिक्री भएका सबै बीमालेखहरुबाट कूल ८३ अर्ब ३९ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । जसमध्ये बाग्मती प्रदेशबाट सबैभन्दा बढी अर्थात ३८ अर्ब ८० करोड रुपैयाँ बीमाशुल्क संकलन भएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।