म्याग्दी, ८ कात्तिक । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङकङले आइतबार हङकङमा आयोजना गरेको देउसीभैलो र तिहार भेटघाट कार्यक्रमबाट महावीर पुनको नेतृत्वमा स्थापना गरिएको राष्ट्रिय आविस्कार केन्द्रका करिब रु ४० लाख सहयोग सङ्कलन गरेको छ ।
मोना हङकङका देउसीभैलो कार्यक्रम संयोजक दल सर्बुजाले दिएको जानकारी अनुसार हङकङको मंकीहिल कन्ट्रीपार्कमा आयोजना गरिएको सो देउसीभैलो तथा तिहारको भेटघाट कार्यक्रममा सहभागीले सो रकम राष्ट्रिय आविस्कार केन्द्रका लागि सहयोग गरेका हुन् ।
अहिलेसम्म आफ्नो क्षेत्र, जिल्ला र जातिका लागि सेवा गरिएको तर अब महावीरले चालेको राष्ट्र निर्माणलाई सहयोग गर्ने भन्दै हङकङवासी नेपालीले मुठी खोलेर आर्थिक सहयोग गरेको मोनाका संयोजक सेर्बुजाले जानकारी दिए ।
समाजसेवी महावीर पुनले विज्ञान र प्रविधिकाे क्षेत्रमा विकासमा याेगदान गर्न र सिर्जनात्मक क्षमताकाे विकासमा याेगदान दिने उदेश्यले राष्ट्रिय आविस्कार केन्द्र निर्माण गर्न सहयाेग जुटाउने अभियान थालेका छन् ।
रासस