काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीको आईपीओमा आज आवेदन दिने अन्तिम दिन रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाले आज चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले फागुन ८ गतेदेखि कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् ५ करोड ४४ लाख ५ हजार ३ सय रुपैयाँ बराबरको ५ लाख ४४ हजार ५३ कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि बिक्री गरेको हो । जसमध्ये अति प्रभावित क्षेत्र नौमुले द्वारी ३ दैलेखका स्थानियहरुका लागि २ लाख ७२ हजार २६ कित्ता र आयोजन प्रभावित क्षेत्र दैलेख (नौमुले द्वारी ३ बाहेक)का स्थानिय बासिन्दाहरुका लागि २ लाख ७२ हजार २७ कित्ता सेयर छुट्याइएको छ ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ३० हजार कित्तासम्म लगानीकर्ता आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
कम्पनीको आईपीओमा स्थानिय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी आवेदन दिँदा प्रतिदरखास्त फारम २ रुपैयाँ शुल्क लाग्नेछ ।