काठमाडौं । मंगलबार सार्वजनिक बिदा भएपनि बैंक तथा वित्तीय संस्थहरु खुला रअने भएका छन् । आज मंगलबार घोडेजात्राका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबार समेतलाई दृष्टिगत गर्दै बैंकिङ्ग सेवा सञ्चालन हुने भएको हो ।
नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै आज बैंकिङ्ग सेवा प्रभावित नहुने व्यवस्था मिलाउन बैंक–वित्तीय संस्थालाई निर्देशन दिएको हो । घोडेजात्राको उपलक्ष्यमा उपत्यकामा सार्वजनिक बिदा भएपनि बैंकहरु भने खुला राख्न भनेको हो ।
‘घोडेजात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा रहेता पनि उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, विद्युतीय चेक भुक्तानी (इसिसी), आरटिजिएसलगायतका आवश्यक बैंकिङ्ग सेवा सञ्चालन राख्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउन हुन यो सूचना जारी गरिएको छ,’ राष्ट्र बैंकले भनेको छ ।
तर, मंगलबार सेयर कारोबार नहुने भएको छ । घोडे जात्रा विदा परेको हुँदा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)सँगै कारोबार पनि बन्द रहने भएको हो । अब नेप्से कारोबार चैत ८ गते भोलि बुधबारदेखि खुला हुने नेप्सेले जनाएको छ ।