काठमाडौं । दोल्ती पावर कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरेको आईपीओ चैत ६ गते बाँडफाँट गरिएको जनाएको छ ।
कम्पनीले फागुन ८ गतेदेखि फागुन २५ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ७ हजार २९८ कित्ता बिक्री खुला गरेको थियो ।
कम्पनीको आईपीओमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुले आवेदन दिएका थिए । कम्पनीको आईपीओमा परेको आवेदनलाई सोमबार बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीको आईपीओको नतिजा निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको वेबसाइटबाट तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको आईपीओ रिजल्टबाट हेर्न सकिन्छ ।
साथै सम्पूर्ण सि–आस्वा सदस्यहरूले बाँडफाँटमा सेयर पर्न सफल आवेदकहरूको रकम निष्काशन तथा बिक्री प्रबन्धकले उपलब्ध गराएको बैंक खातामा जम्मा वा रकमान्तरण गर्न र सेयर नपरेका सम्वन्धित आवेदकहरूको बैंक खाता फुकुवा गरिदिन आग्रह गरेको हो ।