काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशरण महतले लगानीकर्तासँग भेटेर सेयर बजारबारे सुझाव लिएका छन् । अर्थमन्त्री महतले सोमबार बिहान पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीसँग भेटेर सेयर बजार बारे सझाव लिएका हुन् ।
लगानीकर्ताको टोलीले अर्थमन्त्री महतलाई सेयर बजार सुधारका लागि छिटो काम गर्न सुझाव दिएका थिए ।
उनीहरुले चुक्ता सेयर पूँजीको ४० प्रतिशत मात्र सेयर धितोको कर्जा दिन पाउने व्यवस्थालाई हटाएर कुल कर्जा लगानीको १० प्रतिशत धितो कर्जामा दिन पाउने व्यवस्था गर्न माग गरेका छन् ।
यस्तै, उनीहरुले मार्जिन ऋणमा १२ करोडको सीमा हटाउने र १५० प्रतिशत रहेको जोखिम भार १०० प्रतिशतमा झार्न पनि माग गरेका छन् । टोलीले सेवालाई अझ प्रतिस्पर्धी बनाउन निजी क्षेत्रबाट अर्को नयाँ स्टक एक्सचेन्जलाई अनुमति प्रदान गर्न आग्रह गरेको छ ।