काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले बैंक तथा वित्तीय संस्थाहरु मर्ज हुँदा कर्मचारीहरुलाई वेवास्ता गरिएको बताएका छन् । बुधबार नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं महाधिवेशन तथा ३३ औं दिवश कर्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
बैंकिङ्ग क्षेत्रमा बिग मर्जरको अवधारणा अघि बढाइएको भएपनि कर्मचारी व्यवस्थापनमा चुकेको थापाको भनाइ छ । मर्जरपश्चात् कर्मचारीलाई अपायक पर्ने ठाउँमा सरुवा गरेको उनले बताए ।
‘बिग मर्जर पछाडि लगानीकर्ताको लगानी सुरक्षित भयो, अर्थतन्त्रको आवश्यकता पनि बैंकहरुको मर्ज हुनुपर्छ तर, वर्षाैदेखि काम गरेर आएका कर्मचारीलाई वेवास्ता गरिएको छ,’ उनले भने, ‘मर्जरका बेलामा कर्मचरीको वृत्ति विकास वा अधिकारको ख्याल गरिएन, कतिपयलाई अपायक पर्ने ठाउँमा पठाएर हतोत्साहित गरेको छ, काम छोड्नु पर्ने सम्मको अवस्था श्रृजना गरिएको छ ।’
उनले यस्ता गतिविधिमा व्यवस्थापन तहको आँखा नपुगेको बताए । बाहिरबाट मर्जर भएपनि भित्रि रुपमा सकसको अवस्था रहेको उनको भनाइ छ । साथै पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीका लागि छुट्टै स्वास्थ संस्था खोल्नका लागि प्रयास गर्ने उनले बताए । बैंक विरुद्धका गतिविधि गर्ने अराजक समूहलाई कारवाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।
‘देशको आर्थिक स्थिती खराब रहेका बेला प्रतिकूलताको फाइदा उठाएर केही अराजक व्यक्तिहरुले संगठित भएर बैंक तथा वित्तीय संस्थाको विरुद्धमा आन्दोलन गर्दैछन्, जसले समग्र राजनीतिक र आर्थिक स्थीरता खलबल्याउने काम गरेको छ,’ उनले भने, ‘बैंकमा काम गर्ने कर्मचारीलाई अप्ठ्यारो पार्ने गतिविधिलाइ सरकारले किन्तुपरन्तु नभनेर कारवाही गर्नुपर्छ, अराजक गतिविधि भनेको अपराधिक गतिविधि हो, अपराधीक गतिवधिले दण्ड पाउनुपर्छ ।’
उनले नेपालको अर्थतन्त्र संकटग्रस्त नभइ समस्याग्रस्त अवस्थामा पुगेको बताए । बाह्य क्षेत्रमा कडाइ गरेपछि विदेशी मुद्राको सञ्चिती बढेको उनको भनाइ छ । आयातमा कडाइ गर्दा राजश्व संकलनमा कमी आउँदा चालू खर्च गर्न ऋण लिनुपर्ने स्थिती आएको उनले बताए । नेपाल राष्ट्र बैंक स्वायत्त संस्था भएपनि सरकारसँग पारस्परीक सम्बनध कायम गरेर अर्थतन्त्र सुधार गर्नुपर्ने उनको धारणा छ ।
‘सबैभन्दा बढी कर्जा जग्गामा जान्छ, जुन अनुत्पादक क्षेत्र हो, जसलाई ब्यापारले धेरै मूल्यअभिवृद्धि गर्दैन्, अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार र नेपाल रास्ट्र बैंकबीच पारस्परिक सम्बन्ध हुनुपर्छ,’ उनले भने, ‘राष्ट्र बैंकले को कहाँबाट सरकारमा आएको छ भनेर हेर्नु हुँदैन, विश्वसनीय र पारदर्शी सम्बन्ध कायम गर्नुपर्छ ।’