काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर उच्च भएका बेला ऋणीहरुको लागत बढेको भन्दै उद्योगी तथा व्यवसायीहरुले आन्दोलन गरे । सडकदेखि सदनसम्म ब्याजदरको विषय राजनीतिक मुद्धा बन्यो । बैंकका कर्मचारीहरुलाई कालोमोसो दल्नेदेखि अराजक गतिविधिसम्म भए । कर्मचारी माथि हातपात समेत भयो ।
बैंकमा साढे ३ करोडको हाराहारीमा निक्षेपकर्ता छन् भने १८ लाख जति ऋणी छन् । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर बढ्दा विरोध भन्दा स्वागत हुनु पर्ने हो तर, विरोध बढ्यो । कर्जा लिने ऋणी भन्दा निक्षेपकर्ता २०औं गुणा बढी छन् । ब्याजदर बढ्दा ऋणीलाई भन्दा बढी निक्षेपकर्तालाई हुने भएपनि ऋणीहरुले नै आन्दोलन गर्नु परेको देखिन्छ ।
पछिल्लो समय ब्याजदर क्रमिक रुपमा घट्दैछ । जसले गर्दा ऋणीलाई राहत हुनेछ भने निक्षेपकर्तालाई भने सकस पर्ने देखिन्छ । व्यक्तिगत निक्षेपकर्ताभन्दा पनि संस्थागत निक्षेपकर्तालाई बढी घाटा हुने मर्चेन्ट बैंकरहरु बताउँछन् ।
निक्षेपकर्ताकै रुपमा रहेका म्युचुअल फण्डहरुले बैंकको निक्षेपमा अर्बौं रुपैयाँ लगानी गरेका छन् । जनताबाट संकलन गरेको रकमलाई बैंकको निक्षेपमा लगानी गर्न पल्केका म्युचुअल फण्ड ब्याजदर घट्दा भने तनावमा छन् । सेयर बजार ओरालो लागेका बेला बैंकको निक्षेपमा लगानी गरेका म्युचुअल फण्डहरु पछिल्लो समय ब्याजदर घटेपछि भने निक्षेप झिक्ने तयारीमा रहेको बैंकरहरु बताउँछन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३० वटा म्युचुअल फण्ड सूचीकृत छन् । ३० वटै म्युचुअल फण्डले बैंकको मुद्दती निक्षेपमा फागुनसम्म साढे ३ अर्ब बढी रकम लगानी गरेका छन् । तथ्याङ्कअनुसार बैंकको मुद्दती निक्षेपमा ३ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेका छन् । जुन माघको तुलनामा १ प्रतिशत रकम घटी हो । माघमा म्युचुअल फण्डले ३ अर्ब ६८ करोड रुपैयाँ बैंकको मुद्दतीमा लगानी गरेका थिए ।
फागुनमा सबैभन्दा धेरै सानिमा इक्विटी फण्डले बैंकको मुद्दतीमा लगानी गरेको छ । यस फण्डले फागुनसम्म २७ करोड रुपैयाँ, एनआईबिएल समृद्धि फण्ड-२ ले २२ करोड ५० लाख रुपैयाँ, एनआईबिएल ग्रोथ फण्डले १९ करोड ८० लाख रुपैयाँ, आरविवि म्युचुअल फण्ड-१ ले १८ करोड ७५ लाख रुपैयाँ र प्रभु सेलेक्ट फण्डले १८ करोड २५ लाख रुपैयाँ बैंकको मुद्दतीमा लगानी गरेका हुन् ।
यस्तै, कुमारी धनवृद्धि योजनाले १८ करोड, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ ले १७ करोड १० लाख, एनएमबि हाइब्रिड फण्ड एल-१ ले १६ करोड ८८ लाख, एनआईसी एशिया सेलेक्ट-३० ले १५ करोड ५० लाख, सानिमा लार्ज क्याप फण्डले १५ करोड, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले १४ करोड, लक्ष्मी इक्विटी फण्डले १३ करोड ५० ला, सनराइज फोकस्ड इक्विटी फण्डले १३ करोड, नबिल इक्विटी फण्डले १२ करोड ५० लाख, एनआईसी एशिया ग्रोथ फण्डले १२ करोड ३५ लाख, सनराइज फर्ष्ट म्युचुअल फण्डले १२ करोड, सिद्धार्थ इक्विटी फण्डले ११ करोड ५० लाख र नबिल ब्यालेन्सड फण्ड-३ ले ११ करोड रुपैयाँ बैंकको मुद्दतीमा राखेर ब्याज खाइरहेका छन् ।
यस्तै, एनएमबि फिफ्टी, सनराइज ब्लुचिप फण्ड र मेगा म्युचुअल फण्ड-१ ले १० करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । यस्तै, एनआईसी एशिया ब्यालेन्सड फण्डले ९ करोड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ ले ७ करोड ८० लाख, लक्ष्मी उन्नति कोष र कुमारी इक्विटी फण्डले ७/७ करोड, सानिमा ग्रोथ फण्डले ५ करोड ५० लाख, सिटिजन्स म्युचुअल फण्ड-१ ले ४ करोड ७५ लाख, ग्लोबल आइएमई ब्यालेन्सड फण्ड-१ ले ३ करोड, नबिल ब्यालेन्सड फण्ड-२ ले २ करोड ६१ हजार र सिटिजन्स म्युचुअल फण्ड-२ ले ५० लाख रुपैयाँ बैंकको मुद्दतीमा लगानी गरेका छन् ।
फागुनमा ३ वटा फण्डले मुद्दतीमा लगानी बढाएका छन् भने ४ वटा फण्डले पैसा निकालेका छन् । सनराइज फोकस्ड इक्विटी फण्डको ४४.४४ प्रतिशत, सनराइज फस्र्ट म्युचुअल फण्डको २० प्रतिशत र एनआईबिएल समृद्धि फण्ड-२ को २.२७ प्रतिशत रकम मुद्दतीमा लगानी गरेका हुन् ।
यस्तै, सानिमा लार्ज क्याप फण्डको ६.२५ प्रतिशत, सिद्धार्थ इक्विटी फण्डको ८ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड-१ को ४०.६२ प्रतिशत र ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को ६२.५ प्रतिशत लगानी मुद्दतीबाट झिकेर सेयरमा लगानी गरेको देखिन्छ ।
सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्दीप कार्की सेयर बजारमा लगानी गर्ने वातावरण नभएर बैंकको निक्षेपमा लगानी गरेको बताउँछन् । म्युचुअल फण्डको ठूलो रकममध्ये १०/१२ करोड मुद्दतीमा राख्नु थोरै भएको उनको भनाइ छ । साथै, बैंकबाट आएको ब्याज इकाईधनीहरुलाई नै वितरण गर्ने गरेको उनले बताए ।
‘बजारमा लगानीको वातावरण बन्दै गएपछि मुद्दती निक्षेपको लगानी घट्दै जान्छ, बैंकको मुद्दतीबाट आएको ब्याज इकाईधनीहरुले नै पाउने हो, सेयर बजारमा लगानी गर्ने स्थिति छैन भने मात्रै मुद्दतीमा निक्षेपमा राखिन्छ, कल वा करेन्ट खातामा राख्नुभन्दा मुद्दतीमा राखेपछि आउने ब्याजले आम्दानीमा सपोर्ट गर्छ,’ उनले भने ।
म्युचुअल फण्डले मुद्दतीमा निक्षेपमा लगानी गरेर ब्याज खायो भनेर आरोप लगाउनु भन्दा पनि नगद व्यवस्थापन गरिएको उनी बताउँछन् । यदि नगद रकम भयो भने बजार तल झरेको बेलामा खरिद गर्न सहज हुने उनको भनाइ छ ।
‘फण्ड व्यवस्थापनको एक भाग नगद व्यवस्थापन हो, बजारमा उतारचढाव भइरहन्छ, घटेको बेलामा राम्रो ‘प्रफर्मेन्स’ गर्न सकिएन भने मुद्दतीमा राख्ने हो,’ उनले भने ।
यदि बजार बढेको छ भने निक्षेपको रकम घट्ने गरेको उनले बताए । साथै, तरलता व्यवस्थापन गर्नका लागि भएपनि मुद्दतीमा लगानी गर्ने गरेको उनको भनाइ छ । हकप्रद, ऋणपत्र, अक्सन सेयर बिक्री गर्नका लागि सहज होस् भनेर १०/१५ प्रतिशत रकम होल्ड गर्ने गरेको उनले बताए ।
एक मर्चेन्ट बैंकरका अनुसार म्युचुअल फण्डले पोर्टफोलियो व्यवस्थापनका लगि मुद्दतीमा लगानी गर्ने गरेका छन् । बजारमा घटेको बेलामा घाटा खानुभन्दा मुद्दतीमा राखेर ब्याज खानु उपयुक्त हुने उनले बताए । म्युचुअल फण्डहरुले कूल रकमको १५ प्रतिशत रकम मुद्दतीमा लगानी गर्न पाउने व्यवस्था अनुसार फण्डहरुले आ-आफ्नो योजना अनुसार ५, १० र १५ प्रतिशत रकम मुद्दतीमा लगानी गर्न सक्ने उनले बताए ।
‘म्युचुअल फण्डले पोर्टफोलियो सन्तुलन कायम गर्न मुद्दतीमा लगानी गर्छन्, बजार घटेको बेला प्रतिफल राम्रो नआएपछि निक्षेप लगानी गर्ने हो मुद्दतीबाटै १२/१३ प्रतिशतसम्म ब्याज दिइरहेका छन्,’ उनले भने, ‘म्युचुअल फण्डले विशेषगरी दोस्रो बजारमै लगानी गर्ने भएपनि अहिले घटेको हुँदा मुद्दतीमा बढाएका हुन् ।’
