काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बस्यौलाले काठमाडौं र ललितपुर महानगरपालिकामा नै स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न कठिनाई भएको बताएका छन् । शुक्रबार सातौं स्वास्थ्य बीमा वार्षिकोत्सवको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो बताएका हुन् ।
‘प्रथम सेवा बिन्दुको अभावमा काठमाडौं र ललितपुर महानगरमा स्वास्थ्य बीमा कार्यक्रम लागु गर्न कठिनाई छ, यसको लागि सम्बन्धित अधिकारीहरुसँग छलफल भैरहेको छ,’ उनले भने ।
त्यस्तै, उनले स्वास्थ्य बीमामा विभिन्न समस्याहरु रहेको जानकारी गराएका छन् । अस्पतालहरुको फार्मेसी प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा बीमितबाट कार्यक्रम प्रति गुनासो प्राप्त हुने गरेको उनले बताए । उनका अनुसार हालसम्म पनि स्वीकृत नभएको बोर्डको स्थायी संरचनाको प्रक्रिया भने अगाडी बढीरहेको छ । औपचारिक क्षेत्रहरुलाई बीमा कार्यक्रममा आबद्ध गराउन, अति विपन्न परिवारलाई बीमाको दायरा भित्र ल्याउन, समयमै दाबी परीक्षण गरी शोधभर्ना गर्न कठिनाई रहेको उनको भनाई छ ।
त्यस्तै, विपन्न नागरिक औषधी उपचार कार्यक्रममा भुक्तानी कार्य भैरहेको तर व्वस्थापकीय कार्यको लागि थप जनशक्ति व्यवस्थापन हुन नसकिएको उनले बताए । बीमा बोर्डले समय समयमा सेवा प्रदायक स्वास्थ्य संस्थाको अनुगमन तथा सुपरिवेक्षणका अनुशिक्षणको काम गरिरहेको छ । प्रेषण प्रक्रियाको कार्यविधि बनाउने तयारी भैरहेको बोर्डले जानकारी गराएको छ ।
दाबी व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि सुविधाको थैली अद्यावधिक काम शुरु भएको साथै दाबी परीक्षण गर्ने जनशक्ति थप गरिएको डा. बस्यौलाले बताए ।
‘आर्यर्वेद तथा बैकल्पिक चिकित्सा सेवाको लागि सुविधाको थैली तयार गरी अन्तिम चरणमा रहेको, विपन्न नागरिक औषधी उपचार कार्यक्रमको निर्देशिका परिमार्जन गर्ने प्रक्रिया आगाडी बढेको, कैदी बन्दीहरुलाई कार्यक्रम आवद्धताको लागि आवश्यक कार्यविधि स्वीकृत गरी उनीहरुलाई आवद्धता गर्ने कार्य थालनी गरिएको छ,’ उनले भने ।
चालु आर्थिक वर्ष २०७९/८० मा स्वास्थ्य बीमा बोर्डको कार्यक्रमको लागि कूल १७ अर्ब ३२ करोड रुपैयाँ वार्षिक बजेट छुट्याइएको छ । जसमध्ये चालु आवको चैत १५ सम्म ५२ प्रतिशत अर्थात ९ अर्ब रुपैयाँ खर्च भएको छ । वार्षिक लक्ष्यको आधारमा समीक्षा अवधिमा ४६ प्रतिशत भौतिक प्रगति भएको छ । त्यस्तै, चालु आवमा विपन्न कार्यक्रम अन्तर्गत २ अर्ब ४७ लाख ८१ हजार रुपैयाँ बराबरको वार्षिक बजेट छुट्याइएको छ । जसमध्ये १ अर्ब ९१ लाख रुपैयाँ खर्च भएका छन् ।
कुल १९ हजार ९४ जना बीमित परिवार रहेको उक्त बोर्डमा बीमितको जनसंख्या ६४ लाख ५४ हजार जना रहेका छन् । कुल बीमितमध्ये २८ हजार ९३ हजार बढीले सेवा लिएका छन् । त्यस्तै, गत वर्षसम्ममा ३८ लाख ७१ हजार बीमितले बीमा नवीकरण गरेका छन् ।
बोर्डले चालु आवको चैत १५ गतेसम्म कूल एक अर्ब १४ करोड ४१ लाख रुपैयाँ योगदान रकम संकलन गरेको छ । कुल दावी संख्या ४३ लाख ३७ हजार वटा छन् । ४५६ वटा सूचिकृत सेवा प्रदायक रहेकोमा बोर्डले ८ अर्ब ६४ करोड रुपैयाँ सेवा प्रदायकलाई भुक्तानी गरेको छ ।
स्वास्थ्य बीमा कोर्डको कार्यक्रममा लक्षित वर्गको आवद्धता भएकामध्ये अति गरिब बीमितहरु ४ लाख ९८ हजार जना र जेष्ठ नागरिक बीमितको संख्या ७ लाख ७७ हजार पुगेको छ । परिवारका सदस्य समेत एचआईभी संक्रमित बीमित संख्या ३२ हजार ५३० जना, अति अशक्त अपाङ्ग बीमितहरु एक लाख २२ हजार, कुष्ठरोग संक्रमित बीमितहरु ३ हजार २४२ जना, एमडीआर एक्सडीआर टीबी भएका बीमितको संख्या ३ हजार ०१७ जना र महिला स्वास्थ्य स्वयमसेविका बीमित १ लाख ९ हजार रहेका छन् ।