काठमाडौं । मंगलबारको सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक २७.३१ अंकले बढेसँगै बजारमा हरियाली छाएको हो ।
सोमबारको तुलनामा परिसूचक १.४८ प्रतिशतले बढेर १८७१.३३ बिन्दुमा पुगेको छ । त्यस्तै, कारोबार रकम पनि बढेर ९४ करोड ५२ लाख रुपैयाँ पुगेको छ । सोमबारको बजारमा ९१ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ७ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
दोहोरो अंकले बढेको बजारमा कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । कारोबारमा आएका १३ समूहमध्ये उत्पादनमूलक समूह ४९.७५ अंकले बढेको छ ।
त्यस्तै, अधिकांश कम्पनीको सेयर मूल्य बढ्दा दुई कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । कालिञ्चोक दर्शन र आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः १० र ९.९६ प्रतिशतले बढेको छ । यससँगै दुई कम्पनीको अन्तिम कारोबार क्रमशः प्रतिकित्ता ४१४.८० र १०७५ रुपैयाँमा भएको छ ।
सोमबार बढेर सर्किट लेभलमा कारोबार भएको सानिमा मिडिल तमोर हाइड्रोपावरको सेयर मूल्य मंगलबार भने घटेको छ । सो दिन ११.५० रुपैयाँले घटेर प्रतिकित्ता ३१३ रुपैयाँमा झरेको छ ।