
काठमाडौं । जीवन लघु बीमा व्यवसाय गर्न छनोट भएको क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स पाएको छ । प्राधिकरणले मंगलबार अर्थात चैत २८ गते उक्त इन्स्योरेन्सलाई व्यवसाय सञ्चालन गर्नको लागि लाइसेन्स दिएको हो ।
तोकेको चुक्ता पुँजी पुर्याएसँगै प्राधिकरणले कम्पनीलाई लाइसेन्स वितरण गरेको हो । जसको केन्द्रिय कार्यालय कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगरमा रहने छ ।
यससँगै कम्पनीले लाइसेन्स पाएको तीन महिना भित्रमा कारोबार सञ्चालन गरिसक्नु पर्ने प्राधिकरणको व्यवस्था छ । कम्पनी श्रोतका अनुसार क्रेष्ट माइक्रो लाइफले आगामी बैशाख २० गतेभित्रमा कारोबार शुरु गर्ने भएको छ ।
‘सबै पूर्वाधार बनाइसकेका छौं, सम्भवतः अब बैशाखको १५/२० गतेभित्रमा कारोबार शुरु गर्नेछौं,’ कम्पनीको उच्च श्रोतले विकासन्युजलाई बतायो ।
क्रेष्ट माइक्रो लाइफको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रतापमान श्रेष्ठ बन्ने भएका छन् । कम्पनी सञ्चालक समितिले श्रेष्ठलाई सीईओमा सिफारिस गरेसँगै उनी कम्पनीको सीईओ बन्ने भएका हुन् । कम्पनी सञ्चालक समितिको अध्यक्षमा ऋषिराज मोर रहेका छन् भने अन्य सञ्चालकहरुको नियुक्ति भइनसकेको श्रोतले बताएको छ ।
श्रेष्ठ यसअघि नेशनल लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को रुपमा कार्यरत थिए । उनले गत शुक्रबार अर्थात चैत २४ गते मात्रै उक्त कम्पनीबाट राजिनामा दिएका हुन् । श्रेष्ठसँग बीमा क्षेत्रमा काम गरेको ३४ वर्षे अनुभव रहेको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट एमपीए गरेका श्रेष्ठले नेशनल लाइफबाटै आफ्नो जब करियर शुरु गरेका हुन् । यससँगै उनले एउटै कम्पनीमा तीन दशक बढी काम गरेका छन् ।
क्रेष्टसँगै हालसम्म तीन वटा कम्पनीले लघु बीमाको लाइसेन्स पाएका छन् । जसमा ननलाइफ तर्फबाट नेपाल माइक्रो इन्स्योरेन्स र लाइफतर्फको गार्डियन र क्रेष्ट माइक्रो लाइफ रहेका छन् । नेपाल माइक्रो र गार्डियन माइक्रो लाइफले हिजो अर्थात चैत २७ गते मात्रै प्राधिकरणबाट लाइसेन्स पाएका हुन् ।