काठमाडौं । बुधबार देखिएको सेयर बजारको वृद्धि एकदिन पनि टिक्न सकेन । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से परिसूचकमा बिहीबार करेक्सन देखिएको छ ।
९२ अंकले बढेर हरियाली छाएको बजार बिहीबार भने राताम्मे देखिएको छ । बजारमा परिसूचक २९.०७ अंकले घटेर १९३४.४७ बिन्दुमा झरेको छ । जुन बुधबारको तुलनामा १.४८ प्रतिशतले घटी हो ।
बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । दिनभरको कारोबारमा १ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जबकी बुधबार एक अर्ब ९७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
बिहीबार सबैभन्दा बढी कारोबार गर्नेको शीर्ष स्थानमा शिवम् सिमेन्ट रहेको छ । सिमेन्टको ८ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।
दोहोरो अंकले घटेको बजारमा पनि तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आदर्श लघुवित्त वित्तीय संस्था, कालिञ्चोक दर्शन र मौलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य बुधबारको तुलनामा १० प्रतिशतले बढेर सर्किट लागेको हो ।
सबैभन्दा बढी प्रतिशतले मूल्य घट्नेको सूचीमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ अग्रस्थानमा रहेको छ । जसको मूल्य ५.५० प्रतिशतले घटेको छ । त्यस्तै, बिहीबार कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।