काठमाडौं । सिटिजन्स क्यापिटलले आज बैशाख ६ गतेदेखि बन्दमुखी म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिटिजन्स सुपर ३० फण्ड निष्काशन गरेको हो ।
प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक सिटिजन्स बैंक र बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
क्यापिटलको फण्डमा छिटोमा बैशाख १० गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो समयमा पूर्ण आवेदन नपरेमा बैशाख २० गतेसम्म म्याद थप हुनेछ । लगानीकर्ताले न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म खरिद गर्न सक्नेछन् ।
उक्त फण्डमा धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।