काठमाडौं । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से सूचक १५.७३ अंकले घट्दा ९८ करोड ३३ लाख ६७ हजार ३११ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार ३२ लाख ९ हजार २१४ कित्ता २३ हजार २६५ पटक किनबेच भएका छन् ।
बिहीबार एनआईसी एशिया बैंक र कुमारी बैंकको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । एनआईसी एशिया बैंकको कूल ७८ लाख ३६९ कित्ता सेयर ५४२ पटक खरिद बिक्री भएको छ भने ५ करोड ७५ लाख ४३ हजार रुपैयाँ कारोबार भएको छ । बैंकको अघिल्लो दिनको तुलनामा ०.९० प्रतिशत अर्थात् ६.७० रुपैयाँ सेयर मूल्य घटेको छ । नेप्सेमा बिहीबार बैंकको सेयर प्रतिकित्ता ७३४ रुपैयाँमा खरिद बिक्री भएको हो ।
यस्तै, बिहीबार सबैभन्दा धेरै कारोबार हुनेमा कुमारी बैंकको संस्थापक सेयर दोस्रोमा छ । बैंकको साढे ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार २ लाख ९७ हजार २०८ कित्ता सेयर २ पटक खरिद बिक्री हुँदा ३ करोड ५३ लाख ८६ हजार ४८० रुपैयाँ बराबरको कारोबार भएको छ । बैंकको संस्थापक सेयर प्रतिकित्ता ११० रुपैयाँमा कारोबार भएको हो । पछिल्लो समय बैंकबाट संस्थापक सेयरधनीहरु आफ्नो नाममा भएको सेयर बिक्री गरेर बाहिरन थालेका छन् । जसकारण नेप्सेमा बैंकको सेयर कारोबरा धेरै भएको एक लगानीकर्ताले बताए ।