पुँजी बढाउन विदेशी पाटर्नर भित्र्याउँदै प्रभु, नेपाल इन्स्योरेन्सलाई घरजग्गा बेच्न स्वीकृति दिइँदै

<p>काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएको प्रभु इन्स्योरेन्सले पुँजी बढाउन विदेशी पाटर्नर भित्र्याउने भएको छ । कम्पनी सम्बद्ध श्रोतका अनुसार कम्पनीले नेपाल बीमा प्राधिकरणबाट तोकिएको डेढ अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी पुर्याउन विदेशी पाटर्नर भित्र्याउनको लागि छलफल अघि बढाएको हो । ‘विदेशी पाटर्नर भित्र्याउनको लागि छलफल भइरहेको छ,’ कम्पनी उच्च श्रोतले विकासन्युजसँग भन्यो । [&hellip;]</p>

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएको प्रभु इन्स्योरेन्सले पुँजी बढाउन विदेशी पाटर्नर भित्र्याउने भएको छ । कम्पनी सम्बद्ध श्रोतका अनुसार कम्पनीले नेपाल बीमा प्राधिकरणबाट तोकिएको डेढ अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी पुर्याउन विदेशी पाटर्नर भित्र्याउनको लागि छलफल अघि बढाएको हो ।

‘विदेशी पाटर्नर भित्र्याउनको लागि छलफल भइरहेको छ,’ कम्पनी उच्च श्रोतले विकासन्युजसँग भन्यो ।

उक्त श्रोतका अनुसार कम्पनीले सो विषयमा हाल छलफल मात्रै गरेको हो, तर निर्णय भने गरिसकेको छैन । प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउनको लागि प्रभु इन्स्योरेन्सले हाल दुई वटा विकल्प अघि सारेको छ ।

‘यसमा कम्पनीले दुईवटा अप्सनलाई अघि बढाएको छ, एउटा विदेशी पार्टनर भित्र्याउने, अर्को मर्जरमा जाने,’ श्रोतले भन्यो- ‘योमध्ये एउटा विकल्प रोजेर छिट्टै पुँजी वृद्धिको प्रकृया अघि बढाउने तयारीमा छौं ।’

हाल प्रभु इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ३७ करोड रुपैयाँ छ । पुँजी वृद्धिको लागि विदेशी पार्टनर भित्र्याउने विषयमा हाल छलफल मात्रै रहेकोले के कति पुँजी थपिन्छ भन्ने बारे पनि कुनै टुंगो लागेको छैन ।

यता बीमा प्राधिकरणको जानकारीमा पनि प्रभु इन्स्योरेन्सले विदेशी पार्टनर ल्याउनको लागि छलफल गरिरहेको भन्ने छ । जसमा प्राधिकरण पनि सकारात्मक देखिएको छ । ‘कम्पनीले पुँजी थप्नको लागि पैसा हाल्न पायो, तर हकप्रद सेयर जारी गर्न पाएन,’ प्राधिकरण उच्च श्रोतले विकासन्युजसँग भन्यो ।

त्यस्तै, नेपालको पहिलो निर्जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्सले पुँजी थप्नको लागि घरजग्गा बेच्ने भएको छ । कम्पनीले काठमाडौंको न्यूरोडको भवन, नारायणगढ, वीरगञ्ज र विराटनगरको जग्गा बेच्न नेपाल बीमा प्राधिकरणसँग स्वीकृति मागेको हो ।

इन्स्योरेन्सले करिब एक महिनाअघि नै प्राधिकरणसँग उक्त स्वीकृति मागेको हो । जसको लागि हालसम्म कुनै प्रतिकृया नदिएको प्राधिकरण अब भने छिट्टै स्वीकृति दिने मुडमा छ । ‘सम्पत्ति बेचेर पुँजी वृद्धि गर्ने इन्स्योरेन्सको प्रस्तावलाई छिट्टै स्वीकृति दिँदैछौं,’ प्राधिकरणको उच्च श्रोतले भन्यो ।

हाल नेपाल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ४९ करोड रुपैयाँ छ । कम्पनीले सम्पत्ति बेचेर करिब ४४ करोड रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने योजना बनाएको छ । बोनस सेयरपछि कम्पनीको पुँजी करिब १९३ करोड रुपैयाँ पुग्ने छ । ३० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न बीमा प्राधिकरणले स्वीकृत दिने भएकोले त्यो सुविधा पनि उपयोग गरी पुँँजी २५० करोड पुर्याउने कम्पनीको योजना रहेको छ ।

निर्जीवन बीमा व्यवसाय गर्दै आएका यी दुई कम्पनी प्रभु र नेपाल इन्स्योरेन्स हाल नेपाल बीमा प्राधिकरणको विशेष निगरानीमा छ । मर्जरमा जान्छु भनेर सहमति गरेर पनि नगएका यी दुई कम्पनीलाई प्राधिकरणले पुँजी पुर्याउन थप तीन महिनाको समय दिएको छ । यससँगै कम्पनीहरुले आगामी असार मसान्तसम्ममा तोकिएको पुँजी पुर्याइ सक्नु पर्ने छ ।

यदि सो अवधिसम्ममा पुँजी नपुर्याएमा प्राधिकरणले कम्पनीलाई कारवाही गर्ने चेतावनी दिएको छ । ‘पुँजी नपुर्याउनेलाई केही समय थप गरेर पुँजी पुर्याउनको लागि अवसर दिन्छौं, त्यसमा पनि पुर्याएनन् भने की त फोर्स मर्जर गराउँछौं, कि त कारोबार घट्ने गरी कारवाही गर्छौं,’ अध्यक्ष सिलवालले विकासन्युजसँग भने ।

यस्तै पुँजी वृद्धिको प्रकृया अघि बढाएर पनि तोकेको पुँजी नपुर्याएका कम्पनीहरुले भने हकप्रद सेयर जारी गर्न पाउने भएका छन् ।

सम्बन्धित समाचार

पुँजी वृद्धिको लागि समय थप्दै बीमा प्राधिकरण, अधिकांशले हकप्रद सेयर जारी गर्न पाउने

Share News