काठमाडौं । माई खोला हाइड्रोपावरले आज बैशाख ८ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी ३९ करोड २९ लाख ५६ हजार रुपैयाँको ३९ प्रतिशत अर्थात् १५ करोड २९ लाख रुपैयाँ बरारबको आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १५ लाख २९ हजार ४११ कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये ७६ हजार ४७९ कित्ता सामुहिक लगानी कोष, ३० हजार ५८८ कित्ता कर्मचारी र बाँकी १२ लाख ६९ हजार ४११ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले बैशाख १२ गतेसम्म आईपीओ खरिद गर्न सक्नेछन् ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले साथै, नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।
इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।