काठमाडौं । मेन्छियाम हाइड्रोपावर कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १४.४४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आईपीओमा १२ लाख २८ हजार २ सय जना आवेदकले १ करोड ३५ लाख ७ हजार ९६० कित्ता सेयरका १ अर्ब ३५ करोड ७ लाख ९६ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।
कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार रुपैयाँको २० प्रतिशत अर्थात् १० करोड ८५ लाख १७ हजार ७ सय रुपैयाँ बराबरको आईपीओ निष्कानश गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० लाख ८५ हजार १६७ कित्ता सेयर बिक्री गरेको थियो । जसमध्ये १ लाख ८ हजार ५१७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरेर बाँडफाँट गरिसकेको छ ।
कम्पनीले बैशाख ४ गतेदेखि बैशाख ७ गतेसम्म २२ हजार ४३९ कित्ता सेयर कर्मचारी, ५६ हजार ९९ कित्ता सेयर सामूहिक लगानी कोष र ९ लाख ३४ हजार ९१५ कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको थियो ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताका दरले बाँडफाँट गर्दा ९३ हजार ४०१ जना आवेदकले मात्रै कम्पनीको आईपीओ प्राप्त गर्नेछन् ।
१० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा ५ कित्ता बाँकी रहन्छन् । ५ जना आवेदकलाई भने बाँकी रहेको २ कित्ताबाट एक/एक कित्ता थप गरेर ११ कित्ता दरले बाँडफाँट गर्नेछ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।