काठमाडौं । नयाँ स्टक एक्सचेञ्जको अनुमतिका लागि निवेदन दिएको हिमालयन स्कट एक्सचेञ्ज विवादमा परेको छ । यसअघि नै हिमालयन स्कट एक्सचेञ्जको नाममा धितोपत्र बोर्डमा निवेदन दर्ता भएको र सोको कारवाही नटुङ्ग्याई सोही नामबाट नयाँ निवेदन दर्ता गरिएको भेटिएपछि विवादमा परेको हो ।
यसअघि वि.सं.२०६६ सालमा हिमालयन स्टक एक्सचेञ्ज लिमिटेडले नयाँ स्टक एक्सचेञ्जको इजाजतपत्र (लाइसेन्स) अनुमतिका लागि धितोपत्र बोर्डमा निवेदन दर्ता भएको थियो । सो निवेदनको आवश्यक कार्यवाही नटुङ्ग्याई सोही नामबाट पुनः निवेदन दर्ता गरेको भन्दै महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश कुमार भट्टराईले अदालत जाने बताएका हुन् ।
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल लगायतको लगानीमा पुनः हिमालयन स्टक एक्सचेञ्जको नाममा बोर्डमा निवेदन दर्ता भएपछि सीईओ भट्टराईले आपत्ति जनाए । उनले हिमालयन स्कट एक्सचेञ्जको नाममा कसरी नयाँ निवेदन लिन मिल्छ भनेर प्रश्न गरेका छन् । साथै, देशमा कानुन र अदालत रहेको भन्दै निवेदन दर्ता गर्दा बिचार गर्नुपर्ने उनको भनाइ छ ।
‘वि.सं. २०६६ मंसिर १५ गते १८ वटा कम्पनी मिलेर हिमालयन स्कट एक्सचेञ्जको नाममा बोर्डले तोकेको सम्पूर्ण कागजात र २५ हजार रुपैयाँ धरौटि सहित प्रस्तावित कम्पनीको अध्यक्षको हैसियतले कानुनी रुपमा बोर्डमा निवेदन दर्ता गराएका थियौं,’ सीईओ भट्टराईले भने, ‘सो निवेदनमा पटक पटक धितोपत्र बोर्डले पत्राचार पनि गर्याे तर, अहिले हाम्रो निवदेनको कार्यवाही नटुंग्याई वा धरौटि फिर्ता गरि दर्ता रद्द नगरि सोही नाम अर्थात् हिमालयन स्कट एक्सचेञ्ज लिको नाममा कसरी नयाँ निवेदन लिन मिल्छ ? देशमा कानुन छ, अदालत छ, अलिकति बिचार गर्नुपर्ने हैन र भन्या ?’
सीईओ भट्टराईका अनुसार वि.सं. २०६६ मंसिर १५ गते १८ वटा कम्पनी मिलेर धितोपत्र बोर्डमा हिमालयन स्टक एक्सचेञ्ज लि.को नाममा निवेदन परेको थियो । सो कम्पनीको अध्यक्षमा भट्टराईलाई नियुक्त गरिएको थियो । भट्टराई तत्कालिन समयमा एशियन लाइफ इन्स्योरेन्सका प्रबन्ध सञ्चालक थिए ।
विकास बैंक, वित्त, बीमा र सेयर दलाल कम्पनी लगायत १८ वटा कम्पनीको लगानीमा हिमालयन स्टक एक्सचेञ्ज बोर्डमा दर्ता भएको थियो । ऐनमा ५ करोड चुक्ता पूँजी भएको कम्पनीले स्टक एक्सचेञ्ज सञ्चालन गर्न पाउने व्यवस्था भएपनि १० करोड रुपैयाँ चुक्ता पूँजी गरेर दर्ता भएको थियो । जसमा मुख्य लगानीकर्ता एशियन लाइफ इन्स्योरेन्स कम्पनी थियो । एशियन लाइफको १ करोड रुपैयाँ लगानी रहेको थियो ।
सीईओ भट्टराईका अनुसार कुनै पनि कम्पनीको लाइसेन्स लिनका लागि रितपूर्वक निवेदन पेश गरेको कम्पनीलाई अनुमति दिएर अन्य निवेदन रद्द गरिन्छ । साथै, लाइसेन्स जारी नभएको अवस्थामा कारण खोलेर लाइसेन्स दिन मिल्दैन भनेर रद्द गरिन्छ । तर, धितोपत्र बोर्डले दर्ता गरेर सो निवेदनलाई रद्द नगरेको हुँदा हिमालयन स्टक एक्सचेञ्जको अस्तित्व कायमै रहने उनको भनाइ छ ।
हिमालयन स्टक एक्सचेञ्जमा लगानी गरेका १८ वटा समूहबीच छलफल गरेर आवश्यक कानुनी कारवाही खोज्ने उनले बताए ।
‘धितोपत्र बोर्डले निवेदन दर्ता गराएको हो, पटकपटक पत्र पनि पठायो तर, हाम्रो निवेदनलाई रद्द गरेन, रद्द नगरेसम्म त्यो निवेदनको अस्तित्व कायमै रहन्छ, त्यो अस्तित्व कायम रहेको अवस्थामा त्यहि नामको अरुले लिन मिल्दैन,’ सीईओ भट्टराईले भने, ‘बोर्डले प्रक्रियागत त्रुटि गरेकोमा हाम्रो आपत्ति हो ।’
हिमालयन स्टक एक्सचेञ्जमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका, शेखर गोल्छा, भवानी राणा लगायत राजेन्द्र खेतान, अमित मोर, सौरभ ज्योति, जुनी गुरुङ, आशिष श्रेष्ठ, शशिकान्त अग्रवाल, रोहित गुप्ता, विवेक दुगडको लगानी छ ।
शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल प्रमुख लगानीकर्ताका रुपमा १५ प्रतिशत सेयर स्वामित्व रहेको बुझिएको छ । साथै, यस स्टक एक्सचेञ्जमा इन्फिनिटी होल्डिङसका दीपक भट्टको पनि १५ प्रतिशत लगानी रहेको छ ।
सम्बन्धित समाचार : ठूला उद्योगी व्यवसायी मिलेर हिमालयन स्टक एक्सचेञ्ज खोल्दै, दिपक भट्टको पनि १५ प्रतिशत सेयर