काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले प्रस्तावित ‘नेप्से–३०’ इन्डेक्सका लागि सुझाव आह्वान गरेको छ । नेप्से–३० इन्डेक्समा प्रारम्भिक रुपले तय गरिएका इन्डेक्समा समावेशका लागि सूचीकृत संगठित संस्था छनोटका आधारहरु तथा इन्डेक्स गणना विधिका लागि जेठ ५ गते भित्र सुझाव पठाउन नेप्सेले आग्रह गरेको हो ।
नीतिगत, संस्थागत तथा प्रविधि मार्फत पूँजी बजारको विकास गरी लगानीकर्ताहरुलाई आधुनिक दोस्रो बजार कारोबार सुविधा उपलब्ध गराउँदै आएको नेप्सेले नेप्से–३० इण्डेक्स पनि सञ्चालनमा ल्याउने भएको हो । दोस्रो बजार कारोबारलाई थप सुदृढ गर्न, सूचकांकहरुको विकास, सञ्चालन तथा व्यवस्थापन गर्ने उद्देश्य अनुरुप बजारमा तत्काल कारोबारयोग्य सेयरहरुलाई समावेश गरी बजार पुँजीकरणमा आधारित सूचकांकको रुपमा नेप्से ३० इन्डेक्स तर्जुमा हुने नेप्सेले जनाएको छ ।
यस सूचकांकले बजार कारोबार तथा उतारचढावलाई प्रतिबिम्बित गर्नुका साथै डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, एक्सचेञ्ज ट्रेड फण्ड सञ्चालनमा सहयोग पुग्े अपेक्षा नेप्सेले गरेको छ । दोस्रो बजार कारोबारमा नयाँ आयाम थपिने र लगानीकर्तालाई भविष्यमा थप कारोबारयोग्य उपकरण प्राप्त हुने बताइएको छ ।
दीर्घकालिन महत्व राख्ने यस सूचकांकको गणना विधि र यसमा समावेश गरिने सूचीकृत संगठित संस्था छनौटको विधि पारदर्शी तथा विश्वसनीय बनाउन सरोकार राख्ने सबैको रायसुझाव आवश्यक पर्ने बताइएको छ । सोही बमोजिम प्रस्तावित नेप्से ३० इन्डेक्सका लागि तय गरिएको सूचीकृत संगठित संस्था छनौटका आधारहरु तथा इन्डेक्स गणना विधिका लागि जेठ ५ गतेभित्र रायसुझाव पेश गर्न नेप्सेले आग्रह गरेको हो ।
प्रतिसेयर चुक्ता मूल्य भन्दा प्रतिसेयर कितावी मूल्य बढि हुनुका साथै विगत ५ आर्थिक वर्षमध्ये पछिल्लो आर्थिक वर्ष सहित कम्तिमा ३ वर्ष खुद नाफामा रहेको, अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी चुक्ता मूल्यको न्यूनतम १० प्रतिशत रही सोही वर्षको वार्षिक मुद्रास्फीति दर भन्दा बढी रहेको, कम्पनीको कम्तिमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी भएको वा कुल फ्रि–फ्लोट बजार पूँजीकरणमा सम्बन्धित कम्पनीको फ्रि–फ्लोट बजार पूँजीकरण एक प्रतिशतभन्दा बढी रहेको हुनुपर्नेछ ।
यस्तै, सेयरधनीको संख्या कम्तीमा २० हजार, पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत २५ लाख रुपैयाँ वा सोभन्दा बढी रकमको कारोबार भई दैनिक औसत ५ हजार कित्ता वा सोभन्दा बढी कित्ताको कारोबार भएको र दैनिक औसत ४० वा सो भन्दा बढी पटक कारोबार भएको र पछिल्लो ६ महिनाको अवधिमा उपलब्ध कारोबार दिनहरु मध्ये न्यूनतम ७५ प्रतिशत दिनहरुमा कारोबार भएमा प्रस्तावित नेप्से–३० इण्डेक्समा समावेशका लागि सूचीकृत कम्पनी छनोट हुने जनाएको छ ।
[pdf id=407102]