काठमाडौं, २२ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रको गौरवका रुपमा रहने धरहरा निर्माणका लागि नेपाली सेनाले करिब छ करोड १७ लाख १३ हजार ७८३ रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
प्रधानमन्त्री कार्यालयमा सोमबार आयोजित समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले धरहरा निर्माणका लागि सकल दर्जाको तर्फबाट सङ्कलन गरिएको उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।
विसं २०७२ वैशाख १२ गते शनिबार गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पबाट काठमाडौंको मध्यभागमा रहेको नौ तले धरहरा भत्किएको थियो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले राष्ट्रको गौरवका रुपमा रहेको ऐतिहासिक धरहरा निर्माणमा सबै मुलुकवासीको सहभागिता रहोस् भनी ‘मेरो धरहरा म आफैँ बनाउँछु’ भन्ने नारा दिई निर्माणमा सहयोग गर्न आह्वान गरेको थियो ।
सो आह्वानअनुरुप हालसम्म धरहरा निर्माणका लागि सहयोगस्वरुप तीन करोड रुपैयाँ जम्मा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । नेपाली सेनाले प्रदान गरेको रकम अहिले सङ्कलन भएको रकमभन्दा दोब्बर बढी रहेको छ ।
राजधानी घुम्न आउने स्वदेशी तथा विदेशीका लागि आकर्षणको केन्द्रका रुपमा रहँदै आएको धरहरालाई पुरानो पहिचान खुल्ने गरी आधुनिक ढङ्गबाट निर्माण गरिने धरहरा ११ तलाको हुनेछ ।
हालको टक्सार विभाग र गोश्वारा हुलाकको जग्गालाई समेटेर ४२ रोपनी जग्गामा धरहरा निर्माण गर्ने निर्णय सरकारबाट भइसकेको छ । २४५ फिट अग्लो हुने भनिएको धरहरा निर्माण थालनी भएको तीन वर्षमा पूरा हुनेछ ।
धरहरा निर्माणका लागि पुरातत्व विभागको अगुवाइमा काम अघि बढिरहेको छ । आठ रिक्टर स्केलको भूकम्प थेग्ने उक्त धरहरा निर्माणका लागि करिब तीन अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
सेनाको सहयोगबाट सकारात्मक सन्देश प्रवाह भएको छ
सो अवसरमा चेक ग्रहण गर्दै प्रधानमन्त्री एवम् राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्ष दाहालले नेपाली सेनाले संस्थागत रुपमा धरहरा निर्माणका लागि उपलब्ध गराएको सहयोगबाट नेपाली जनतामा सकारात्मक सन्देश प्रवाह भएको बताए।
उनले भने–“नेपाली सेनाले तदारुकताका साथ जिम्मेवार बोध गरी सङ्गठनलाई परिचालन गरी रकम सङ्कलन गरेर हस्तान्तरण गरिएबाट आमजनतामा सकारात्मक र राम्रो सन्देश जाने छ । संस्थागत रुपमा भएको सेनाको कामले अरुलाई पनि प्रेरणा दिने छ ।”
धरहरा निर्माणका लागि अहिलेसम्म सङ्कलन भएको रकमको परिमाण हेर्दा त्यति धेरै उत्साहवद्र्धक नरहेको बताउँदै प्रधानमन्त्री दाहालले भने– “धरहरा निर्माणमा सहयोग पुर्याउने आमनेपालीको जिम्मेवारी र कर्तव्यको कुरा भएकाले त्यसलाई पनि निरन्तरता दिँदै सरकारले वैकल्पिक व्यवस्थाबारे पनि सोच्ने छ ।”
सो अवसरमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपालको राष्ट्रिय गौरवका रुपमा रहेको ऐतिहासिक सम्पदा धरहराको निर्माणमा योगदान होस् भनी सकल दर्जाको तर्फबाट सङ्कलन गरिएको रकमको चेक हस्तान्तरण गरिएको बताए । रासस