११ वर्षमा १५ गुणाले बढ्यो बोनस सेयर वितरण, अब लगानीकर्ताले नगद लाभांश पाउने

<p>काठमाडौं । पछिल्लो समय पूँजी बजारमा नयाँ कम्पनी सूचीकृत हुने संख्या बढ्दै जाँदा बोनस सेयर पनि वृद्धि हुँदै गएको छ । विगत एक दशककाे अवधिमा सूचीकृत कम्पनीहरुको बोनस सेयर १५ सय भन्दा बढीले वृद्धि भएको तथ्याङ्कले देखाउँछ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को तथ्याङ्क अनुसार पूँजी बजारमा ११ वर्षको अवधिमा बोनस सेयर १ हजार ५२६ प्रतिशत [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय पूँजी बजारमा नयाँ कम्पनी सूचीकृत हुने संख्या बढ्दै जाँदा बोनस सेयर पनि वृद्धि हुँदै गएको छ । विगत एक दशककाे अवधिमा सूचीकृत कम्पनीहरुको बोनस सेयर १५ सय भन्दा बढीले वृद्धि भएको तथ्याङ्कले देखाउँछ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)को तथ्याङ्क अनुसार पूँजी बजारमा ११ वर्षको अवधिमा बोनस सेयर १ हजार ५२६ प्रतिशत वृद्धि भएको छ । पछिल्लो समय वित्तीय साक्षरता र पहुँच बढ्दै गएपछि सेयर बजारको विस्तार पनि ब्यापक भएको देखिन्छ । जसकारण नयाँ कम्पनी आउने क्रम पनि जारी रहेको छ । सेयरधनीलाई प्रतिफल वितरण गर्ने सँगै पुँजी वृद्धि गर्ने उद्देश्यले वितरण गरिने बोनस सेयर दर्ता गर्ने कम्पनीको संख्या तथा रकम दुवैमा वृद्धि भएको सेबोनले बताएको छ ।

तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६८/६९ मा ५२ कम्पनीले ३ अर्ब ८० करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेका थिए । गत आर्थिक वर्ष २०७८/७९ सम्म ६१ अर्ब ७९ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेका हुन् । गत वर्ष कूल १४५ सूचीकृत कम्पनीले बोनस सेयर वितरण गरेका थिए।

गत वर्षमा २५ वाणिज्य बैंकको ३४ अर्ब २४ करोड रुपैयाँ, १० विकास बैंकको ७ अर्ब २ करोड रुपैयाँ, १२ वित्त कम्पनीको १ अर्ब २८ करोड रुपैयाँ, ५१ लघुवित्त कम्पनीको ५ अर्ब २ करोड रुपैयाँ, २६ बीमा कम्पनीको ७ अर्ब ३९ करोड रुपैयाँ, १३ जलविद्युत कम्पनीको २ अर्ब ७ करोड रुपैयाँ, दुई उत्पादनमुलक कम्पनीको ३१ करोड रुपैयाँ, एक व्यापार कम्पनीको २ करोड रुपैयाँ र ३ लगानी कम्पनीको ३ अर्ब १५ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेका थिए ।

यसअघि आर्थिक वर्ष २०७७/७८ मा कूल १३५ सूचीकृत कम्पनीले ४६ अर्ब २१ करोड रुपैयाँको बोनस सेयर वितरण गरेका थिए । जसमध्ये २७ वाणिज्य बैंकको ३१ अर्ब ५४ करोड रुपैयाँ, १७ विकास बैंकको ४ अर्ब ७५ करोड रुपैयाँ, ८ वित्त कम्पनीको ६६ करोड रुपैयाँ, १८ बीमा कम्पनीको ३ अर्ब ९२ करोड रुपैयाँ, १४ जलविद्युत कम्पनीको १ अर्ब ६२ करोड रुपैयाँ, ४७ लघुवित्त कम्पनीको ३ अर्ब ७ करोड रुपैयाँ, एक उत्पादनमुलक कम्पनीको २९ करोड रुपैयाँ र २ लगानी कम्पनीको ३३ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण गरेका थिए ।

सूचीकृत संस्थाहरुले आफ्नो व्यवसाय विस्तार गरी सेयरधनीहरुलाई बोनस सेयर वितरण गरेका हुन् । नियामक निकायले पूँजी वृद्धि गर्न निर्देशन दिएका कारण पनि बोनस सेयरमा कम्पनीहरुले जोड दिएका हुन् ।

नेपाल राष्ट्र बैंकले बैंकहरू र बीमा प्राधिकरणलले बीमा कम्पनीहरुको पूँजी वृद्धि गर्न निर्देशन दिएका कारण कम्पनीहरू बाेनस सेयर वितरण गर्न वाध्य भएका थिए ।

बोनस सेयर वितरण गर्दा कम्पनीको पूँजी वृद्धि र सेयरधनीको कित्ता मात्रै थपिने छ । अन्तर्राष्ट्रिय बजारमा बोनस सेयरभन्दा नगद लाभांश वितरण गर्ने कम्पनीलाई उत्कृष्ट मानिन्छ । तर नेपालमा भने बाेनस सेयर वितरण गर्ने कम्पनीहरूकाे सेयर मूल्य उच्च हुने गरेको छ ।

तथ्याङ्क अनुसार धितोपत्र बोर्डमा आर्थिक वर्ष २०७६/७७ मा ९९ कम्पनीको ३३ अर्ब ६८ करोड रुपैयाँ, आर्थिक वर्ष २०७५/७६ मा ९४ कम्पनीको २६ अर्ब ७० करोड रुपैयाँ, आर्थिक वर्ष २०७४/७५ मा १२२ कम्पनीको ३३ अर्ब ९ करोड रुपैयाँ, आर्थिक वर्ष २०७३/७४ मा १६४ कम्पनीको ३४ अर्ब ८० करोड रुपैयाँ, आर्थिक वर्ष २०७२/७३ मा १३४ कम्पनीको २१ अर्ब ६ करोड रुपैयाँ, आर्थिक वर्ष २०७१/७२ मा ११३ कम्पनीको १६ अर्ब ३२ करोड रुपैयाँ, आर्थिक वर्ष २०७०/७१ मा ८४ कम्पनीको ६ अर्ब ६ करोड रुपैयाँ र आर्थिक वर्ष २०६९/७० मा ६६ कम्पनीको ४ अर्ब ५० करोड रुपैयाँको बोनस सेयर धितोपत्र बोर्डमा दर्ता भएको हो ।

यसअघिका वर्षहरुमा बोनस सेयरलाई जोड दिएको कम्पनीले यसपटक नगद लाभांशलाई मात्रै जोड दिएका छन् । साथै अघिल्ला वर्षहरुमा नियामक निकायले नगद लाभांश वितरणमा कडाइ गरेका कारण पनि बोनस सेयरमा जोड दिएको बैंकरहरु बताउँछन् । यसपटक भने नगद लाभांमा लगाइएको सीमा हटाएपछि नगद लाभांश बढाएकाे उनीहरु बताउँछन् ।

नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडा यसअघि बोनस सेयर वितरणमा जोड दिएको हुँदा नगद लाभांश वितरण गर्न नपाएको बताउँछन् । उनले राष्ट्र बैंकले नगद लाभांश वितरणमा लगाएको सीमा हटाएको हुँदा नगदमा जोड दिएको बताए । बैंकको नीति अनुसार बोनस सेयर र नगद लाभांश वितरण गर्ने निर्णय गर्ने उनको भनाइ छ ।

‘बैंकहरुले गत वर्षसम्म बोनस सेयरलाई नै जोड दिएका थिए, राष्ट्र बैंकले २ वर्षसम्म बोनस सेयरलाई नै जोड दियो, यस वर्ष मात्रै नगद लाभांश वितरण गर्न खुला गरेको हो,’ उनले भने, ‘बोनस सेयर वितरण गर्ने की नगद लाभांश वितरण गर्ने भनेर बैंकको आफ्नै रणनीति हुन्छ, नगद लाभांश वितरण गर्न रोक लगाएको हुँदा सेयरधनीहरुको अपेक्षा पुरा गर्न नगदमा जोड दिएका हुन सक्छन् ।’

हाल बैंकहरुको पूँजी बढाउन आवश्यक नदेखेर नै नगद लाभांशमा जोड दिएको हुन सक्ने उनले बताए । सानिमा बैंकका सीईओ निश्चलराज पाण्डे बैंकको आ–आफ्नो रणनीति अनुसार लाभांश वितरण गर्न सक्ने बताउँछन् । बोनस सेयर वितरण गर्ने वा नगद लाभांश वितरण गर्ने भनेर बैंकको क्षमतामा निर्भर पर्ने उनको धारणा छ ।

‘सबै बैंकको आ–आफ्नो रणनीति हुन्छ, बैंकको क्यापिटल विजनेश सकारात्मक छ भने नगद लाभांश वितरण गर्छन्, यदि बैंकको क्यापिटल टाइट र बैंकलाई ब्यापार गर्न गाह्रो छ भने बोनस सेयर वितरण गर्न सक्छन्,’ उनले भने, ‘कुनै बैंकको क्यापिटल एडुकेसीका कारण नगदमा जोड दिएका हुन्छन्, अन्य विजनेशको लागि क्यापिटल छ भने आफ्नो आन्तरिकबाट भएपनि नगद लाभांश वितरण गर्छन्, यदि क्यापिटल कम र बैंकको ब्यापार गर्न पूँजी पुग्दैन भने बोनस सेयर वितरण गर्ने हो ।’

Share News