काठमाडौं । सिटि होटलले आज बैशाख २५ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर बिक्री गरेको हो ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १६ लाख ७४ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषलाई, ४ प्रतिशत अर्थात् ६६ हजार ९६० कित्ता कर्मचारीलाई र बाँकी १३ लाख ५५ हजार ९४० कित्ता सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । सर्वसाधारणलाई छुट्याइएको १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४ सय कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरी बाँडफाँट पनि गरिसकेको छ ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २ हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताले बैशाख २८ गतेसम्म आवेदन दिन पाउनेछन् । यदि सो समयमा पूर्ण आवेदन नपरेमा जेठ ८ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले स्वीकृत प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र मेरो सेयरबाट कम्पनीको सेयर खरिद गर्न सक्नेछन् ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।