काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको सेवा बन्द हुने भएको छ । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच एकीकृत कारोबार हुने भएकाले सेवा बन्द हुने भएको हो ।
दुवै कम्पनीबची मर्जर प्रक्रिया सम्पन्न भई बैशाख २७ गतेदेखि एकीकृत कारोबार गर्ने छन् । एकीकृत कारोवार गर्ने प्रयोजनार्थ दुबै संस्थाको तथ्यांक एकीकरण गर्नुपर्ने भएकाले कम्पनीको विधुतीय माध्यमबाट प्रदान गरिने सेवा बैशाख २६ गते २ बजेदेखि बन्द रहने छ । साथै, बैशाख २७ गते विहान कार्यालय समयदेखि पुनः सेवा सुचारु हुने कम्पनीले जनाएको छ ।
यी दुबै कम्पनीले आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरू गर्ने भएका हुन् । मर्जरपछि कम्पनीको अध्यक्ष र सीईओ दुबै आइएमई जनरल इन्स्योरेन्सले पाउने छ । नयाँ कम्पनीको अध्यक्ष हेमराज ढकाल र सीईओ युगेश भक्त बादे श्रेष्ठ बन्ने छन् । त्यस्तै, श्रवण रावल वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) हुनेछन् । रावल प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ हुन् ।
नेपाल इन्स्योरेन्ससँग मर्जर भाडिएपछि दुई कम्पनीले गत माघ २७ गते मर्जरमा जान प्रारम्भिक सम्झौता गरेका थिए । नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते दुई कम्पनीलाई अन्तिम स्वीकृति दिएको थियो ।