
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले लगानीकर्ता ज्ञानेन्द्र लाल प्रधानविरुद्ध मुद्दा दर्ता गरेको छ । इन्साइडर ट्रेडिङ र अवैध सेयर खरिद बिक्री गरेको आरोपमा नेपाल हाइड्रो डेभलोपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको सेबोनका प्रवक्ता मुक्ति श्रेष्ठले जानकारी दिए ।
उनले धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) विपरित सेयर कारोबार गरेको सेबोनको ठहर छ । प्रधान अध्यक्ष हुँदा र सोपदबाट हटेको एक बर्ष पुरा नभएसम्म कुनै तरिकाले सेयर हस्तान्तरण गर्न नहुने नियमको विपरित श्रीमतिलाई घरायसी नामसारी गराई सो सेयर दोस्रो बजारमा श्रीमतिको माध्यमबाट बिक्री गर्ने गरेको नेप्से, सिडिएससि तथा धितोपत्र दलाल व्यवसायीले पेश गरेको विवरणहरुबाट प्रष्ट रहेको प्रवक्ता श्रष्ठले बताए ।
उनले स्वयम आफ्नो सेयर विक्री नगरेतापनि परिवारको सहयोग लिई सेयर विक्री गर्ने कार्य सफा मनशायले गरेको नदेखिको प्रवक्ता श्रेष्ठले बताए । प्रधानले धितोपत्र लगायतका कानूनमा रहेको छिद्र प्रयोग गरी श्रीमति, छोरा तथा छोरीको नाममा घरायसी नामसारीको परिपञ्च गरी सोही सेयर बिक्री गरेको उनको भनाइ छ ।
‘संस्थागत गतिविधी भन्दापनि बजार मूल्यबाट लाभ लिने गरी कारोबार गरेको देखिन आउँदा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९८ को बजारमा जालसाजी युक्त कारोबार गरेको देखिएकोले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९८ को खण्ड (क) मा कसैले कसैसँग धितोपत्र खरिद बिक्री वा विनिमय गर्ने उद्देश्य लिई कसैलाई झुक्याउन कुनै प्रविधि, योजना वा काम गरेमा जालसाजी गरेको मानिनेछ भन्ने व्यवस्था बमोजिम प्रधानले नियमन निकाय नेपाल धितोपत्र बोर्ड, धितोपत्र बजार लगायत अन्य सरोकारवालालाई झुक्याउने योजना वा काम गरेको प्रष्ट देखिन आयो,’ उनले भने ।