नयाँ र पुराना ब्रोकरबीच वाक युद्ध : १ पैसा चलखेल गरेको प्रमाण ल्याउन चुनौति

<p>काठमाडौं । नयाँ धितोपत्र दलाल व्यवसायी तथा व्यापारी (ब्रोकर कम्पनी)ले आर्थिक चलखेल गरेको आरोप पूर्ण रुपमा निराधार र कपोलकल्पित रहेको बताएका छन् । नेपाल धितोपत्र बोर्ड, मन्त्री परिषद तथा सर्वोच्च अदालतमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आर्थिक चलखेल गरेको आरोप लगाइएको र सञ्चालनको तर्खरमा रहेका ४३ वटा नयाँ ब्रोकर कम्पनीहरु समेत संलग्न रहेको आरोप पुष्टि गर्न [&hellip;]</p>

काठमाडौं । नयाँ धितोपत्र दलाल व्यवसायी तथा व्यापारी (ब्रोकर कम्पनी)ले आर्थिक चलखेल गरेको आरोप पूर्ण रुपमा निराधार र कपोलकल्पित रहेको बताएका छन् । नेपाल धितोपत्र बोर्ड, मन्त्री परिषद तथा सर्वोच्च अदालतमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आर्थिक चलखेल गरेको आरोप लगाइएको र सञ्चालनको तर्खरमा रहेका ४३ वटा नयाँ ब्रोकर कम्पनीहरु समेत संलग्न रहेको आरोप पुष्टि गर्न नयाँ ब्रोकर कम्पनीहरुले चुनौति दिएका हुन् ।

‘नेपालको इतिहासमा पहिलो पटक समय सीमा तोकेर, तोकेको समय सीमाभित्र सम्पूर्ण कार्यहरु सक्दै पूर्ण रुपमा पारदर्शी ढंगबाट सबै प्रक्रियाहरु सम्पन्न गरी कार्य अगाडि बढाएको देखेको र सो उपर हामीहरुले १ पैसा समेत खर्च नगर्नु परेको सम्भवतः यो नै पहिलो घटना हो तर, यसरी अगाडि बढाइएको कार्यमा समेत आर्थिक चलखेलको आरोप ब्रोकर्स एशोशिएसनले लगाएको हुँदा सो आरोप प्रमाण सहित प्रमाणित गर्न हामी चुनौति दिन्छौ, आगामी दिनमा यस्तै किसिमका आधारहीन, कपोलकल्पित आरोपहरु लगाइएको पाइएमा हामी त्यसउपर कानूनी उपचार खोज्न बाध्य हुनेछौं,’ नयाँ ब्रोकर कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नयाँ धितोपत्र दलाल व्यवसायी तथा व्यापारीले पुराना ब्रोकर व्यवसायीलाई सिन्डिकेट एवम् एकाधिकार गरेको बताउँदै संकुचित मानसिकता रहेको आरोप लगाएका छन् । केही दिन अघि स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालले जारी गरेको विज्ञप्ति विरुद्ध नयाँ ब्रोकर कम्पनीहरुले यस्तो बताएका हुन् ।

स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालले नयाँ ब्रोकर कम्पनीको लाइसेन्स वितरण प्रक्रिया रोक्नु पर्ने बताएको थियो । पुराना ब्रोकर कम्पनीहरुले ५६ लाख लगानीकर्ताहरुले गरेको अपेक्षामाथिको तुषारापात गरेको आरोप नयाँ ब्रोकर कम्पनीले लगाएका छन् ।

नेपाल धितोपत्र बोर्डले नयाँ धितोपत्र दलाल तथा व्यापारीका लागि निजी क्षेत्रका साथै बैंक वित्तीय संस्थाद्वारा प्रबद्र्धित ४३ वटा कम्पनीले पूर्वस्वीकृति (आशयपत्र) समेत प्रदान गरेको छ । नयाँ ब्रोकर कम्पनीले लाइसेन्स पाउने पूँजी बजारको विकास तथा विस्तारमा कोशे ढुंगो कायम हुने नयाँ ब्रोकर कम्पनीहरुले बताएका छन् ।

‘नियामक निकायबाट भएको सकारात्मक विकासलाई नकारात्मक ढंगबाट व्याख्या गर्दै आफ्नो सिन्डिकेट एवं एकाधिकार कायम हुनुपर्छ भन्ने संकुचित मानसिकता स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालको रहेको छ, पुराना ब्रोकर व्यवसायीले स्वायत्त नियामक निकाय धितोपत्र बोर्ड, मन्त्रीपरिषद तथा सर्वोच्च अदालतमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आर्थिक चलखेल गरेको आरोप लगाइएको र यसमा हामी भर्खरै पूर्वस्वीकृति (आशयपत्र) लिई सञ्चालनको तर्खरमा रहेका ४३ वटा नयाँ ब्रोकर कम्पनीहरु समेत संलग्न रहेको आरोप पूर्ण रुपमा निराधार र कपोलकल्पित छन्,’ नयाँ ब्रोकर कम्पनीको भनाइ छ ।

खुला अर्थतन्त्रको अवधारणालाई अंगिकार गर्दै सीमित क्षेत्रबाहेक अन्य सम्पूर्ण क्षेत्रहरुमा बजारको आवश्यकता अनुसार खुला प्रतिस्पर्धात्मक वातावरणमा जो सुकैले लगानी गर्न सक्ने नैसर्गिक अधिकार दिइएको नयाँ ब्रोकर कम्पनीहरुले बताएका छन् । खुला तथा प्रतिस्पर्धात्मक बजारले राज्यको आम्दानीको श्रोत बढाउनुका साथै लगानीकर्ता तथा सेवाग्राहीले समेत सर्वसुलभ रुपमा गुणस्तरीय तथा भरपर्दो सेवा प्राप्तिको सुनिश्चितता प्रदान गर्ने उनीहरुको भनाइ छ ।

Share News