
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले जग्गा वर्गीकरणको काम थप गर्ने तयारी रहेको बताएका छन् । नेपाल जग्गा तथा आवास विकास महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आयोजना गरेको भूमि र आवास सम्बन्धी एक दिने कार्यशाला गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘हालसम्म १६० वटा पालिकाले मात्रै जग्गा वर्गीकरण गरेका छन्, जग्गा वर्गीकरण नँहुदा अहिलेको समस्या आएको हो, जग्गा वर्गीकरण गर्ने समय थप गर्ने तयारीमा मन्त्रालय छ,’ उनले भने ।
उनले सबै नागरिकको भूमिमा पहुँच हुनु पर्ने बताए । उनका अनुसार अझै १५ लाख जनता जग्गाको पहुँच भन्दा बाहिर रहेका छन् ।
‘सबै वर्ग र समुदायलाई जग्गा तथा आवसको व्यवस्था हुनु पर्छ, अझै १५ लाख जनतासँग जग्गा छैन, पहुँच नभएकालाई पनि सहज रुपमा घरजग्गाको व्यवस्था गर्ने काम भइरहेको छ,’ उनले भने ।