काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट १ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको हो ।
कम्पनीको सञ्चालक समितिको वैशाख ६ गते बसेको बैठकले १ः१ को अनुपात अर्थात् १ सय प्रतिशत हकप्रद सेयर जारी गर्न प्रस्ताव गर्दै पूर्व स्विकृतीका लागि विद्युत नियमन आयोगमा निवेदन पेश गरेको थियो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले एक बराबर एक कित्ताले हुन आउने १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता सेयर हकप्रद मार्फत बिक्री गर्ने प्रस्ताव गरेको हो ।
सोही प्रस्ताव विद्युत नियमन आयोगले जेठ ५ गते स्विकृत दिएको कम्पनीले बताएको छ । अब सो हकप्रद प्रस्ताव नेपाल धितोपत्र बोर्डले स्वीकृति दियो भने बिक्री खुला गर्नेछ ।
कम्पनीले हकप्रद सेयरबाट संकलन रकम मध्ये ९३ करोड ३९ लाख ८१ हजार ३ सय पिके हाइड्रोपावर प्रालिले विकास गरेको ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजना लगानी गर्नेछ । साथै, बाँकी रहेको रकम ९३ करोड ३९ लाख ८१ हजार ३ सय रुपैयाँ बैंकको ऋण भुक्तानी गर्नेछ ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६ सय रुपैयाँ रहेको छ ।