काठमाडौं । जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षमा मात्रै साढे ४७ अर्ब बढी दावी भुक्तानी गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७९/८० को ९ महिनाको अवधिमा बीमितहरुलाई कूल ४७ अर्ब ६३ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेका हुन् ।
जनु अघिल्लोे आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.२७ प्रतिशतले बढी हो । कम्पनीहरुले गत आर्थिक वर्ष २०७८/७९ को चैतसम्ममा बीमितलाई ४३ अर्ब ९९ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेका थिए ।
कम्पनीहरुले सार्वजनिक गरेका तेश्रो त्रैमासको वित्तीय प्रतिवेदन अनुसार समीक्षा अवधिमा १५ वटा कम्पनीले सो मत्राको दावी भुक्तानी गरेका हुन् । जसमध्ये सबैभन्दा बढी रकमको दावी भुक्तानी गर्नेमा नेपाल लाइफ रहेको छ । नेपाल लाइफले आफ्ना बीमितलाई १० अर्ब ९५ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । जुन गत वर्षको तुलनामा १७.३६ प्रतिशतले बढी हो ।
त्यस्तै, प्रतिशतको आधारमा प्रभु लाइफ इन्स्योरेन्स सबैभन्दा बढी एग्रेशिभ देखिएको छ । गत वर्षको तुलनामा प्रभु लाइफले २५३.६५ प्रतिशत बढी दावी भुक्तानी दिएको छ । गत आवमा ३० करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेको कम्पनीले चालु आवमा मात्रै एक अर्ब ७ करोड रुपैयाँ बराबरको दावी बीमितलाई भुक्तानी गरेको छ ।
प्रभु लाइफपछि सन नेपाल लाइफ बढी आक्रामक देखिएको छ । गत आवमा ३३ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेको कम्पनीले चालु आवको ९ महिनामा ८२ करोड रुपैयाँ भुक्तानी गरेको छ । जुन प्रतिशतको आधारमा १४८.४९ प्रतिशतले बढी हो ।
समीक्षा अवधिमा नेपाल लाइफसहित १२ वटा कम्पनीले एक अर्ब बढी भुक्तानी गरेका छन् । जसमध्ये लाइफ इन्स्योरेन्स कर्पोरेशन, हिमालयन लाइफ र मेटलाइफको दावी भुक्तानी भने गत वर्षको तुलनामा घटेको छ । यी तीन कम्पनीले क्रमशः १.६५ प्रतिशत, ४४.३४ प्रतिशत र ३०.२२ प्रतिशतले दावी भुक्तानी घटाएका छन् ।
लाइफ इन्स्योरेन्स कम्पनीले ६ अर्ब ५५ करोड, नेशनल लाइफले ५ अर्ब ६५ करोड, एशियनले ५ अर्ब १२ करोड, हिमालयनले ४ अर्ब २८ करोड, राष्ट्रिय बीमा संस्थानले ३ अर्ब २३ करोड, आइएमई लाइफले २ अर्ब ६१ करोड, मेटलाइफले २ अर्ब १७ करोड, सूर्यज्योतिले १ अर्ब ४३ करोड, सिटिजनले १ अर्ब ३३ करोड, सानिमा रिलायन्सले १ अर्ब ३१ करोड र प्रभु लाइफले एक अर्ब ७ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेका छन् ।
करोडभन्दा कम रकमको भुक्तानी गर्नेको सूचीमा रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् ।
बीमा दाबी भुक्तानी वर्षको प्रभाव
यो तथ्यांकले कम्पनीहरुले दावी भुक्तानीलाई बढी प्राथमिकता दिँदै आएको देखिन्छ । पछिल्लो समय नेपाल बीमा प्राधिकरणले दावी भुक्तानीमा कडाई गर्दै आएसँगै कम्पनीहरुले समयमै दावी भुक्तानी गर्न थालेका जानकारहरु बताउँछन् । त्यस्तै, प्राधिकरणले बीमाको विश्वसनीयता गुम्न नदिन चालु आवलाई बीमा दाबी भुक्तानी वर्षको रुपमा मनाइरहेको छ । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीहरुलाई क्लेमलाई प्राथमिकतामा राख्न निर्देशन दिँदै आएका छन् । त्यसको प्रभाव पनि कम्पनीहरुले तिर्ने दावी भुक्तानीमा परेको देखिन्छ ।
त्यस्तै, सिलवालले बीमा दाबी भुक्तानी प्रदेश तथा शाखा कार्यालयबाटै दिने व्यवस्था मिलाउन समेत बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् ।