काठमाडौं । फर्दर पब्लिक अफरिंग (एफपीओ)बाट हुने आम्दानीमा पनि कर लगाउने घोषणा गरेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत् यस्तो आम्दानीमा कर लगाउने घोषणा गरेका हुन् ।
सरकारले एफपीओ जारी गरी प्राप्त रकमबाट लाभांश बापत वितरित बोनस सेयरको रकम आयमा समावेश नगरेका निकायलाई शुल्क र ब्याज मिनाहा सम्बन्धी विशेष व्यवस्था गरेको उनले बताए ।
‘कुनै निकायले एफपीओबाट प्रिमियम मूल्यमा सेयर जारी गरी प्राप्त भएको रकममध्ये आर्थिक वर्ष २०७८/७९ सम्म हिताधिकारीलाई बोनस सेयरको रूपमा वितरण गरेको लाभांश रकमलाई आयकर ऐन, २०५८ को दफा ५६ को उपदफा (३) बमोजिम आयमा समावेश गरी कर दाखिल नगरेको भए उक्त रकममा लाग्ने कर संवत् २०८० साल मंसिर मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ,’ अर्थमन्त्री महतले भने ।
यस्तै, सरकारले बैंक वित्तीय संस्था तथा बीमा कम्पनीहरुको मर्जर तथा प्राप्तिमा जाँदा सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो)बाट भएको आम्दानीमा कर लगाउने घोषणा गरेको उनले बताए ।
निकायहरु आपसमा मर्जमा सौदाबाजी गर्दा प्राप्त लाभ (बार्गेन पर्चेज गेन) बापतको आयलाई कर प्रयोजनको लागि आयमा समावेश गरी कर दाखिल नगरेको भए आर्थिक वर्ष २०७८/७९ सम्मको त्यस्तो आयमा लाग्ने कर संवत् २०८० साल मंसिर मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुने अर्थमन्त्री डा.महतले बताए ।