काठमाडौं । सेयर लगानीकर्ताहरुले ५० वटै ब्रोकर कम्पनीको कार्यालयमा ताला लगाएका छन् । सरकारले आर्थिक विधेयक २०८० मार्फत लिएको कर नीतिको विरोध जनाउँदै लगानीकर्ताहरुले काठमाण्डौंमा रहेका ५० वटै ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरेका हुन् ।
आगामी आर्थिक वर्षको बजेटमा सेयर कारोबार गर्दा सरकारले थप कर लगाएको भन्दै लगानीकर्ताहरु आन्दोलित बनेका हुन् । जसको विरोधमा काठमाडौंमा रहेका ५० वटै ब्रोकर कार्यालयमा तालाबन्दी गरिएको लगानीकर्ता रोहन कार्कीले जानकारी दिए ।
आर्थिक विधेयकमार्फत सरकारले व्यावसायिक सेयर कारोबारसरह नै कर तिर्नुपर्ने नियम लगाएको भन्दै दुई दिनदेखि लगानीकर्ता आन्दोलित छन् । विद्यमान पुँजीगत लाभकर दीर्घकालीन ५ र अल्पकालीन ७.५ प्रतिशत नै अन्तिम कायम गर्नुपर्ने अडान लगानीकर्ताले राखेका छन् ।