काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भारी वर्षापछि आएको हावाहुरीका कारण ८ बालबालिकासहित कम्तीमा २७ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । खैबर पख्तुनख्वा प्रान्तका ४ जिल्लामा शनिबार राति आएको आँधीका कारण दुईदेखि ११ वर्ष उमेर समूहका ५जना दाजुभाइको मृत्यु भएको छ ।
प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता तैमुर अली खानले एएफपीसँग घरको छाना र पर्खाल भत्किँदा कम्तीमा १२ जना एकै स्थानमा पुरिएको बताए । उनका अनुसार १४० भन्दा बढी मानिस घाइते भएका छन् भने २०० भन्दा बढी पशुचौपाया मरेका छन् ।
प्रशासनले चारवटै जिल्लामा आपतकालीन अवस्था घोषणा गरेको छ । यसैबीच, अरब सागर पार गर्दै पाकिस्तान र भारतको तटीय क्षेत्रतर्फ एक चक्रवात प्रवेश गरिरहेको छ । यो आँधीका कारण हप्ताको अन्त्यमा विभिन्न क्षेत्रमा बाढी तथा भूस्खलन हुने अनुमान गरिएको छ ।
पाकिस्तानी अधिकारीहरूले सिन्ध प्रान्तको तटीय क्षेत्रका आठ देखि नौ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सुरु गर्ने बताएका छन् । सहयोगका लागि सोमबारदेखि सेना परिचालन गरिने भएको छ ।
उक्त चक्रवातले मङ्गलबार साँझदेखि हावाहुरी, आँधीबेहरी र सहरी क्षेत्रमा बाढी आउन सक्ने विपद् व्यवस्थापन निकायले आइतबार जनाएको छ । माझीहरूलाई जुन १७ सम्म ९मौसमी० प्रणाली समाप्त नभएसम्म खुला समुद्रमा नजान मौसमसम्बन्धी निकायले सुझाब दिएका छन् ।
छिमेकी मुलुक भारतमा पनि यो आँधी पश्चिमी गुजरात राज्यको सौराष्ट्र र कच्छ क्षेत्र तथा आसपासका पाकिस्तानी तटीय क्षेत्र पार गर्ने सम्भावना रहेको मौसम विभागले आइतबार जनाएको छ । यसले १२५ देखि १३५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चल्ने र १५० किलोमिटर प्रतिघण्टा ९९३ माइल प्रतिघण्टा० सम्म हावा चल्ने चेतावनी दिएको छ ।
वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले मौसमी वर्षालाई भारी र अप्रत्याशित बनाइरहेको छ । विश्वको पाँचौं ठूलो जनसङ्ख्या भएको पाकिस्तान विश्वव्यापी हरितगृह ग्याँस उत्सर्जनको केवल ०।८ प्रतिशतको लागि जिम्मेवार छ तर विश्वव्यापी तापक्रम वृद्धिको कारण निम्तिने खराब मौसमको लागि यो देश सबैभन्दा कमजोर देशहरू मध्ये एक हो ।
गत ग्रीष्मऋतुमा भएको अनपेक्षित मनसुनी वर्षाका कारण देशको एक तिहाइ भाग जलमग्न भएको थियो, जसका कारण २० लाख घरमा क्षति पुगेको थियो भने १ हजार ७०० भन्दा बढी मानिसको मृत्यु भएको थियो ।