बीमा कम्पनीले बाग्मती प्रदेशबाट मात्रै उठाए ४१ प्रतिशत बढी प्रिमियम, कुन प्रदेशबाट कति उठ्यो ?

<p>काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले विभिन्न प्रकारको बीमा पोलिसीबाट कूल २३ अर्ब ५१ करोड ३९ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । कम्पनीहरुले जारी गर्दै आएका विभिन्न पोलिसीमध्ये ६ वटा पोलिसीबाट सो मात्राको बीमाशुल्क अर्थात प्रिमियम संकलन गरेका हुन् । कम्पनीहरुले गत बैशाखमा मात्रै मोटर, कृषि तथा बाली, लघु, सामून्द्रिक, सम्पत्ति र हवाई बीमालेखबाट [&hellip;]</p>

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले विभिन्न प्रकारको बीमा पोलिसीबाट कूल २३ अर्ब ५१ करोड ३९ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । कम्पनीहरुले जारी गर्दै आएका विभिन्न पोलिसीमध्ये ६ वटा पोलिसीबाट सो मात्राको बीमाशुल्क अर्थात प्रिमियम संकलन गरेका हुन् ।

कम्पनीहरुले गत बैशाखमा मात्रै मोटर, कृषि तथा बाली, लघु, सामून्द्रिक, सम्पत्ति र हवाई बीमालेखबाट प्रिमियम स्वरुप उक्त रकम उठाउन सफल भएका हुन् । जुन विभिन्न ७ वटै प्रदेशमा बिक्री हुँदै आएको छ । यीमध्ये हवाई बीमालेख भने तीन वटा प्रदेश (बाग्मती, गण्डकी र मधेश) मात्रै बिक्री हुँदै आएको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार बाग्मती प्रदेशबाट सबैभन्दा बढी प्रिमियम संकलन हुने गरेको देखिन्छ । बिक्री हुने सबै प्रकारको पोलिसीबाट बढी प्रिमियम संकलन गर्नेमा बाग्मती प्रदेश नै अग्रस्थानमा रहेको छ । बाग्मती प्रदेशबाट मात्रै कूल १३ अर्ब ८७ करोड ६० लाख रुपैयाँ बराबरको प्रिमियम उठेको छ । जुन संकलन भएको कूल बीमाशुल्कको ४१ प्रतिशत हो । यसले कम्पनीहरु गाउँभन्दा शहर केन्द्रित भएको स्पष्ट बुझिन्छ । त्यस्तै, सबैभन्दा बढी प्रिमियम मोटर बीमाबाट उठेको तथ्यांकले देखाएको छ ।

मोटर बीमालेख : सबैभन्दा बढी बिक्री, बाग्मतीपछि लुम्बिनी प्रदेशमा बढी

निर्जीवन बीमा कम्पनीहरुले बैशाखसम्ममा मोटर बीमालेख बिक्रीमार्फत कूल १० अर्ब ९३ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । जुन पछिल्लो एक महिनाको तुलनामा १०.६४ प्रतिशतले बढी हो । निर्जीवन बीमा कम्पनीहरुले गत चैतसम्ममा मात्रै ९ अर्ब ८८ करोड ७६ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका थिए ।

बैशाखसम्म उठेको प्रिमियममध्ये सबैभन्दा बढी बाग्मती प्रदेशबाट उठेको छ । त्यस्तै, रकमको आधारमा सबैभन्दा कम प्रिमियम उठ्ने प्रदेशमा कर्णाली देखिएको छ । बाग्मतीबाट ६ अर्ब १५ करोड ८ लाख उठ्दा कर्णालीबाट १३ करोड ७६ लाख प्रिमियम मोटर बीमापोलिसीबाट संकलन भएको छ ।

मोटर बीमापछि कृषि तथा बाली बीमालेखको बिजनेश बढी छ । कम्पनीहरुले एक महिनाको अवधिमा यो बीमालेखबाट १०.४९ प्रतिशत बढी बीमाशुल्क संकलन गरेका छन् । यस्तो बीमाशुल्क संकलन गर्ने वा (रकमको आधारमा) बाग्मती प्रदेश अग्रस्थानमा छ भने प्रतिशतको आधारमा कोशी प्रदेश अगाडि छ ।

त्यस्तै, लघुबीमा पोलिसीबाट बैशाखमा कूल ६ करोड १८ लाख रुपैयाँ बराबरको प्रिमियम उठेको छ । जुन एक महिनामा ८.८३ प्रतिशतले बढेको हो । चैतमा यस्तो बीमाशुल्क ५ करोड ६७ लाख रुपैयाँ थियो । सबैभन्दा बढी प्रिमियम बाग्मती प्रदेशबाट उठेको छ भने मधेश प्रदेशबाट कम संकलन भएको छ ।

सामून्द्रिक बीमालेखबाट कम्पनीहरुले एक अर्ब ६७ लाख ३३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन एक महिनाको तुलनामा ८.३६ प्रतिशतले बढी हो । चैतमा मात्रै कम्पनीहरुले सामून्द्रिक बीमालेखबाट एक अर्ब ५४ करोड ४२ लाख रुपैयाँ बराबरको प्रिमियम उठाएका थिए । यस्तो बीमालेखमा पनि सबैभन्दा बढी प्रिमियम संकलन गर्नेमा बाग्मती प्रदेश नै अगाडि छ । समीक्षा अवधिमा कर्णाली प्रदेशमा सबैभन्दा बढी अर्थात १८.५६ प्रतिशत बढी प्रिमियम सामून्द्रिक बीमा पोलिसीबाट उठेको छ ।

त्यस्तै, प्राधिकरणको तथ्यांकअनुसार सम्पत्ति बीमालेखको बिजनेस पनि ८.१९ प्रतिशतले बढेको छ । गत चैतमा ६ अर्ब ६८ करोड १७ लाख रुपैयाँ प्रिमियम संकलन भएकोमा बैशाखमा बढेर ७ अर्ब २२ करोड ९० लाख रुपैयाँ पुगेको छ । यो पोलिसी पनि सबैभन्दा बढी बाग्मती प्रदेशमा बिक्री भएको छ भने कम कर्णाली प्रदेशमा भएको छ ।

त्यस्तै, हवाई बीमालेखबाट कूल एक अर्ब ६० करोड ४९ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ । जुन ६.५४ प्रतिशतले बढी हो । यो पोलिसी भने तीन वटा अर्थात बाग्मती, गण्डकी र मधेश प्रदेशमा मात्रै बिक्री भएको छ ।

Share News