काठमाडौं । आईपीओ निष्काशन तथा बिक्रीका लागि २ वटा कम्पनी नेपाल धितोपत्र बोर्डमा पुगेका छन् । कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेड र सानिमा हाइड्रोपावर लिमिटेड आईपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्ड पुगेका हुन् ।
कान्तिपुर टेलिभिजनले जेठ २८ गते र सानिमा हाइड्रोपावरले जेठ २६ गते बोर्डमा आवेदन दिएको बोर्डले जनाएको छ । कान्तिपुर टेलिभिजनले सर्वसाधारणको लागि ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति मागेको छ ।
यस्तै, सानिमा हाइड्रोपावरले पनि आयोजना प्रभावित स्थानीय र सर्वसाधारण लगानीकर्ताको लागि २४ करोड ५० लाख रुपैयाँ बराबरको २४ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति मागेको छ । दुबै कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।