काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले भोलि जेठ ३२ गते, बिहीबारदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभािवत क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको हो ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गर्नेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले कम्पनीको आईपीओ खरिद गर्न कम्तिमा पनि साढे ४ हजार रुपैयाँ जोहो गर्नु पर्ने भएको छ । न्यूनतम १० कित्ता आवेदन दिने हो भने एक जना लगानीकर्ताले ४ हजार ३५० रुपैयाँ जोहो गर्नु पर्ने छ । यदि १० लाख कित्ता आवेदन दिने हो भने एक लगानीकर्ताले ४३ करोड ५० लाख रुपैयाँ जोहो गर्नु पर्ने देखिन्छ ।
कम्पनीको आईपीओमा छिटोमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा असार १४ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेका छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गद्धारा निर्मित मेरो सेयर मार्फत् आवेदन दिन सक्नेछन् ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।