काठमाडौं । पुराना ब्रोकर व्यवसायीहरुको छाता संगठन स्टक ब्रोकर एशोसिएसन अफ नेपालले आफूहरुले कसैलाई पनि गुमराहमा नपारेको स्पष्ट पारेको छ । नयाँ स्टक ब्रोकर व्यवसायीहरुले गुमराहमा परेर लाइसेन्स प्रक्रिया रोकेको आरोप लगाएपछि आफूहरु स्वस्थ प्रतिस्पर्धा गर्दै आएको र कसैलाई पनि गुमराहमा नपारेको पुराना ब्रोकर व्यवसायीहरुले बताएका हुन् ।
पुराना ब्रोकर व्यवसायीहरुको गुमराहमा परी अर्थसमितिले नयाँ ब्रोकर कम्पनीको लाइसेन्स प्रक्रिया रोकेको आरोप नयाँ स्टक ब्रोकर अफ एशोसिएसनले लगाएको थियो । बुधबार एक विज्ञप्ति जारी गर्दै नयाँ ब्रोकर व्यवसायीहरुको संगठन नयाँ ब्रोकर एशोसिएसनले सर्वोच्च अदालतलाई समेत चुनौति दिने गरी पुराना ब्रोकर व्यवसायीहरुको गुमराहमा परी प्रक्रिया रोक्न निर्देशन दिएको आरोप नयाँ ब्रोकर व्यवसायीहरुले लगाएका थिए ।
नयाँ ब्रोकर लाइसेन्स प्रक्रिया रोकेको आरोप पुराना ब्रोकर व्यवसायीलाई लगाएपछि स्टक ब्रोकर एशोसिएसन अफ नेपालले प्रतिवाद गर्दै झुठा, आधारहिन, कपोल्पल्पित र अवास्तिविक रहेको बताएको छ । धितोपत्रसम्बन्धी ऐन, नियम अन्तर्गत रही खुल्ला प्रतिस्पर्धाबाट पूँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त गरी ब्रोकर कम्पनीहरु सञ्चालनमा रहेको विज्ञप्तिमा भनिएको छ ।
‘धितोपत्र दलाल व्यवसायीको लाईसेन्स वितरण प्रक्रियामा कुनै पनि भूमिका छैन, लाईसेन्स वितरण प्रक्रियामा सरोकार राख्ने सम्बन्धित सबै सम्मानित निकायहरुलाई गुमराहमा पार्ने कुनै पनि प्रकारको प्रयासहरु धितोपत्र दलाल व्यवसायीहरुले गर्दैनन्, सम्मानित निकायहरु कसैको पनि गुमराहमा पर्न सक्छन् भन्ने विश्वास पनि गर्न सकिदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘धितोपत्र दलाल व्यवसायीहरुको गुमराहमा परी सम्मानित अर्थ समितिले निर्देशन जारी गरेको भन्ने जस्ता अत्यन्तै संवेदनशिल, असान्दर्भीक तथा स्तरहिन आरोपप्रति संघको गम्भिर आपत्ति रहेको छ र यस्ता आधारहिन झूठा आरोपहरुबाट भ्रमित नहुन सरोकारवाला सबैलाई अनुरोध गर्दछौं ।’
नयाँ स्टक ब्रोकर व्यवसायीहरुले पुराना ब्रोकर व्यवसायीलाई विभिन्न आरोप लगाएपछि आफूहरु स्वच्छ प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन् । पुराना व्यवसायीलाई सिण्डिकेट र एकाधिकार गरेको आरोप लागेपछि भविष्यमा स्वच्छ प्रतिस्पर्धा गर्न तत्पर रहेको बताएका हुन् ।
‘उच्च प्रतिस्पर्धाबाट नै स्थापित ब्रोकर कम्पनीहरु अहिले पनि एकआपसमा प्रतिस्पर्धात्मक वातावरणमा सेवा प्रदान गर्दै आईरहेका छन्, भविष्यमा पनि स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा समग्र पूँजीबजारको अग्रपङ्तीमा रही पूँजीबजारको वृहत्तर विकासको लागी लगानीकर्ताहरुको सेवामा सदैव समर्पित रहने छौं, सिण्डिकेट र एकाधिकार बजार चाहने हाल सञ्चालनमा रहेका धितोपत्र दलाल व्यवसायीहरुु भनी गरिएको झुठा, आधारहिन, कपोल्कल्पित र अवास्तविक आरोपप्रति खेद प्रकट गर्दै सदैव प्रतिस्पर्धात्मक वातावरणमा सेवा प्रदान गर्न तत्पर रहेको अनुरोध गर्दछौं,’ उनले भने ।
ब्रोकर कम्पनीको प्रयासले दैनिक करिब २२ अर्ब रुपैयाँसम्मको कारोबार भएको उनीहरुको दाबी छ । उक्त कारोबारको राफसाफ तथा फछर्यौट ब्रोकर कम्पनीले तोकिएको समयसीमा दिएको उनीहरुको भनाइ छ । ३० औं बर्षको ईतिहास हुँदा पनि पूँजीबजारमा विभिन्न काम हुन आवश्यक रहेको उनीहरुको बुझाइ छ ।
‘३० औं बर्षको ईतिहासमा आजसम्म पनि पूँजीबजारको आधारभुत औजार राफसाफ कोष कार्यान्वयनमा नआएको अवस्था छ, अक्सन मार्केट उपलब्ध छैन, उधारो कारोबारबाट सिर्जित बिषम परिस्थिती तथा उधारो सङ्कलनको कुनै कानुनी प्रावधानहरुको व्यवस्था छैन, यस्तो बिषम परिस्थितिमा पनि ब्रोकर कम्पनीहरुबाट उच्च व्यवसायिक दायित्व निर्वाह गर्दै कुनै पनि दिन धितोपत्र कारोबारको राफसाफमा एक दिन पनि ढिलाई नभएको तथा समस्या नभएको ईतिहास छ,’ स्टक ब्रोकर एशोसिएसन अफ नेपालको विज्ञप्तिमा भनिएको छ ।